Banijya News

सौन्दर्य प्रशाधनमै १२ अर्ब ६८ करोडबढी बाहिरियो, फेस क्रिममै पौने दुई अर्ब

1
1.1K Shares

नेपालमा सौन्दर्य प्रसाधन (कस्मेटिक) का सामान विभिन्न मुलुकबाट आयात हुँदै आएका छन् । पछिल्ला वर्षहरुमा अझ बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा कस्मेटिक सामान आयातमा करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार, लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न स्याहार सामग्री आयातमा मात्रै चालु आवको जेठ महिनासम्ममा १२ अर्ब ६८ करोडभन्दा बढी रकम बाहिरिएको हो । जुन गत वर्षको तुलनामा उल्लेख्य बढेको देखिन्छ ।

गत आव २०८१/८२ को ११ महिना अवधिमा यी सामग्रीको कुल आयात करिब ११ अर्ब २८ करोड २७ लाख बराबर थियो । गत वर्षको तुलनामा यस वर्ष यी कस्मेटिक सामग्री आयात समग्रमा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिन्छ ।

तथ्यांकअनुसार, ओठको सुन्दरता बढाउन प्रयोग हुने ‘लिप मेकअप’ (लिपस्टिक लगायत) सामग्री आयातमा भारी वृद्धि भएको छ । चालु आवको ११ महिनामा ७१ करोड ७४ लाख रुपैयाँबराबरको लिप मेकअप आयात भएको छ । गत वर्षको ११ महिनामा ५९ करोड ३७ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

त्यस्तै, अनुहारमा लगाउने फेस क्रिम आयात पनि ह्वात्तै बढेको छ । यस वर्ष १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँको फेस क्रिम आयात भएको तथ्यांक छ । गत वर्ष १ अर्ब १६ करोड ४७ लाख रुपैयाँको फेस क्रिम आयात भएको थियो । त्यस्तै, बडी लोसन आयात पनि ६६ करोड ३ लाखबाट बढेर ७२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

वर्गीकरणमा नपरेका अन्य सौन्दर्य प्रशाधनका सामग्रीमा सबैभन्दा धेरै रकम बाहिरिएको छ । चालु आवको जेठसम्म ४ अर्ब ४७ करोड २ लाखको आयात भएको देखिन्छ । गत वर्ष सोही अवधिमा ४ अर्ब ३ करोड ५१ लखको आयात भएको थियो । त्यस्तै, आँखाको मेकअप सामान आयातमा वृद्धि भएर २७ करोड ४२ लाख पुगेको छ । गत वर्ष सोही अवधिमा २७ करोड २९ लाखको आयात भएको थियो । यद्यपि, अनुहारमा लगाउने पाउडरको आयात भने केही घटेको देखिन्छ । चालु आवको जेठसम्ममा २५ करोड २८ लाख रुपैयाँबराबरको आयात भएको तथ्यांक छ । गत आवको सोही अवधिमा ३७ करोड ८० लाखको पाउडर आयात भएको थियो ।

त्यस्तै, नेल पोलिस आयातमा पनि उच्च वृद्धि देखिएको छ । चालु आवको ११ महिनामा ५ करोड ८८ लाखको आयात भएको छ । गत वर्षको सोही अवधिमा ५ करोड २३ लाखको आयात भएको थियो । साथै, अन्य मेनिक्योर र पेडिक्योर सामग्री आयात १ करोड ४८ लाखबाट अस्वाभाविक बढेर ५ करोड २९ लाख पुगेको छ । जाडोमा छाला सुरक्षाका लागि प्रयोग हुने पेट्रोलियम जेली आयातमा पनि ७ करोड ४८ लाख रकम बाहिरिएको छ । गत वर्ष २ करोड ८७ लाखको आयात भएको थियो ।

तर, सिन्दूर, कपाल धुने स्याम्पु, कपालमा लगाउने हेयर कन्डिसनर र हेयर क्रिम आदिको आयात घटेको देखिएको छ । कपाल धुने स्याम्पु यस वर्ष १ अर्ब १३ करोड २३ लाखको आयात भएको छ । गत वर्ष १ अर्ब १७ करोड ११ लाखको आयात भएको थियो । त्यस्तै, कपालमा लगाउने हेयर कन्डिसनर १२ करोड १३ लाख र हेयर क्रिम ४ करोड ३९ लाखको आयात भएको छ ।

यो तथ्यांकले अधिकांश सौन्दर्य सामग्री आयात र खपत नेपालमा बढ्दै गएको देखाउँछ । नेपाली बजारमा विदेशी सौन्दर्य प्रशाधनका सामानको माग उच्च रहेको देखिन्छ, तर यसबाट वर्सेनी अर्बौं रकम विदेशिने प्रष्ट हुन्छ ।

1

Scroll to Top