नेपालबाट वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिकको संख्या पछिल्ला महिनामा निरन्तर घट्न थालेको छ। सरकारी तथ्यांकले चालु आर्थिक वर्षको पहिलो १० महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १९ प्रतिशतले घटेको देखाएको छ। अघिल्लो आर्थिक वर्षको साउनदेखि जेठसम्म ४ लाख ५२ हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति लिएका थिए भने यस वर्ष सोही अवधिमा यो संख्या ३ लाख ६७ हजारमा सीमित भएको छ। यो अवस्थाले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ चुनौती थपिएको संकेत गरेको छ।
श्रमिक बाहिरिने क्रम घटे पनि नेपालमा रेमिट्यान्स आप्रवाह भने तत्कालका लागि घटेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामै १९ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। विज्ञहरूका अनुसार विदेशमा पहिलेदेखि कार्यरत श्रमिकले निरन्तर रकम पठाइरहेकाले अहिले रेमिट्यान्समा उल्लेख्य असर नदेखिएको हो। तर नयाँ श्रमिकको संख्या घट्ने क्रम लामो समयसम्म जारी रहे दुई–तीन वर्षपछि यसको प्रभाव अर्थतन्त्रमा देखिन सक्ने उनीहरूको चेतावनी छ।
वैदेशिक रोजगारीमा आएको सुस्तताको सबैभन्दा ठूलो असर खाडी मुलुकमा देखिएको छ। नेपाली श्रमिकका प्रमुख गन्तव्य रहेका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत, बहराइनलगायत देशमा नयाँ रोजगारी सिर्जना सुस्त बनेको छ। पश्चिम एसियामा बढेको भूराजनीतिक तनाव, निर्माण परियोजनाको कमी तथा कम्पनीहरूले कर्मचारी संख्या घटाउन थालेपछि नयाँ श्रमिकको माग घटेको हो।
यूएईले नेपाली श्रमिकका लागि भिसा प्रक्रियामा थप कडाइ गरेपछि पनि श्रमिक बाहिरिने क्रम प्रभावित भएको छ। केही समय श्रम र भ्रमण भिसामा रोक लगाइएको थियो भने प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरियो। यसले श्रमिकको लागत थप बढाएको छ। त्यसमाथि यूएईले आफ्नै नागरिकलाई निजी क्षेत्रमा प्राथमिकता दिने ‘इमिराटाइजेसन’ नीति कडाइका साथ लागू गरिरहेकाले विदेशी कामदारको अवसर सीमित बन्दै गएको छ।
साउदी अरबमा पनि नेपाली श्रमिकको माग घटेको छ। त्यहाँको बहुचर्चित नियोम परियोजनाका केही प्रमुख निर्माण कार्य बन्द भएपछि हजारौं कामदार अन्य परियोजनामा सारिएका छन् भने केहीलाई स्वदेश फर्काइएको छ। त्यसमाथि सीप प्रमाणीकरण अनिवार्य बनाउने नयाँ नीतिले नेपाली श्रमिक र रोजगार व्यवसायीबीच अन्योल सिर्जना गरेको छ। नेपाल सरकारसँग पर्याप्त समन्वयबिना लागू गर्न खोजिएको उक्त व्यवस्थाको विरोध भएपछि प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।
कतारको अवस्था पनि पहिलेजस्तो छैन। फिफा विश्वकपअघि वार्षिक करिब एक लाख नेपाली पुग्ने यो मुलुकमा अहिले नयाँ परियोजना नहुँदा श्रमिकको माग निकै घटेको छ। निर्माण क्षेत्रमा लगानी कम भएपछि पुराना श्रमिकले समेत नियमित काम पाउन कठिनाइ भोगिरहेका छन्। रोजगारदाता कम्पनीहरूले कर्मचारी कटौती गर्न थालेका कारण नयाँ भर्ती उल्लेख्य रूपमा घटेको देखिन्छ।
मलेसिया अहिले केही हदसम्म वैकल्पिक गन्तव्य बनेको भए पनि त्यहाँ पनि चुनौती कम छैन। विदेशी श्रमिकको कोटा घटाइएको छ भने स्थानीय बेरोजगारी बढेपछि सरकारले आफ्नै नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति अघि सारेको छ। यसले आगामी दिनमा नेपाली श्रमिकको अवसर अझ सीमित हुन सक्ने अनुमान गरिएको छ।
वैदेशिक रोजगार व्यवसायीहरूले भने श्रमिक संख्या घट्नुको अर्को कारण सरकारी सेवा शुल्कसम्बन्धी नीति भएको दाबी गरेका छन्। उनीहरूका अनुसार श्रमिकबाट अधिकतम १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाइने व्यवस्थाले विदेशका रोजगारदाता कम्पनीसँग नयाँ मागपत्र ल्याउन कठिन भएको छ। बजार विस्तार र रोजगारदाता खोज्न लाग्ने वास्तविक खर्च नीति अनुरूप नसमेटिएकाले व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।
सरकार भने श्रमिकमाथि अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले सेवा शुल्कमा कडाइ गरिएको बताउँछ। विभागले तोकिएकोभन्दा बढी रकम असुलेको उजुरी आएमा अनुसन्धान गरी कारबाही गरिरहेको जनाएको छ। श्रमिकसँग गरिएको सम्झौता, भिसा प्रक्रिया तथा सेवा शुल्कको नियमित अनुगमन भइरहेको सरकारी दाबी छ।
यसबीच अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण निर्माण, उत्पादन, यातायात, व्यापार र आतिथ्य क्षेत्रको ठूलो हिस्सा जोखिममा परेको जनाएको छ। प्रतिवेदनअनुसार रोजगारी कटौती, ओभरटाइम बन्द तथा नयाँ श्रमिक भर्तीमा कमी आउने प्रवृत्ति बढेको छ। यसले खाडी क्षेत्रमा कार्यरत लाखौं आप्रवासी श्रमिकलाई प्रत्यक्ष असर पारेको छ।
नेपालमा बेरोजगारी उच्च रहेकाले वैदेशिक रोजगारी अझै पनि लाखौं युवाको प्रमुख विकल्प बनेको छ। विश्व बैंकको तथ्यांकअनुसार नेपालको युवा बेरोजगारी दर दक्षिण तथा दक्षिण–पूर्वी एसियामै उच्चमध्ये एक रहेको छ। यही कारण स्वदेशमा पर्याप्त अवसर नबन्दासम्म विदेश जाने क्रम पूर्ण रूपमा रोकिने सम्भावना कम रहेको श्रमविज्ञहरूको भनाइ छ।
विज्ञहरूका अनुसार विदेशबाट फर्किने श्रमिकले नयाँ सीप, अनुभव र प्रविधि पनि नेपाल भित्र्याइरहेका छन्। त्यसैले वैदेशिक रोजगारीलाई केवल रेमिट्यान्ससँग मात्र जोडेर नभई मानव स्रोत विकाससँग समेत सम्बन्धित विषयका रूपमा हेर्नुपर्ने उनीहरूको सुझाव छ। साथै खाडी मुलुकमा निर्भरता घटाउँदै युरोप तथा अन्य विकसित मुलुकसँग श्रम सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यद्यपि युरोपमा रोजगारीका अवसर सहज छैनन्। लागत बढी लाग्ने, प्रक्रिया लामो हुने तथा अधिकांश देशमा निजी म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन नपाइने व्यवस्थाले नेपाली श्रमिकलाई त्यहाँ पुग्न कठिनाइ भइरहेको छ। त्यसैले तत्कालका लागि खाडी र मलेसियाकै बजार नेपालको मुख्य आधार बनेका छन्।


