असार महिना सुरु भएसँगै नेपालको निजामती सेवामा राजीनामा दिने कर्मचारीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। राष्ट्रिय किताबखाना (निजामती) को पछिल्लो ९ कार्यदिनको रेकर्ड अनुसार ७१ जना निजामती कर्मचारीहरूले सेवाबाट राजीनामा दिएका छन् र उनीहरूको राजीनामा स्वीकृत भई पेन्सन पट्टा बनाउने प्रक्रिया समेत अघि बढिसकेको छ। असार १ गतेदेखि ११ गतेसम्मको तथ्याङ्क हेर्दा हरेक दिनजसो कर्मचारीहरूले जागिर छाडिरहेको देखिन्छ, जसमा सबैभन्दा बढी असार ४ र ५ गते १२र१२ जना तथा ३ र ११ गते ११र११ जनाले राजीनामा दिएका छन्।
यस अवधिमा ८९ जना कर्मचारीहरू अनिवार्य अवकाशमा जाँदा राजीनामा दिनेको सङ्ख्या ७१ पुगेको छ। विगतमा अनिवार्य अवकाशमा जानेको सङ्ख्या राजीनामा दिनेको तुलनामा २.६ प्रतिशतले बढी हुने गरेकोमा अहिले यो अन्तर घटेर सङ्कुचित बन्दै १.३ प्रतिशतमा झर्नुले पनि राजीनामा दिनेको लहर चलेको पुष्टि गर्छ।
यसरी ठुलो सङ्ख्यामा कर्मचारीहरूले सेवा त्याग्नुको मुख्य कारण सरकारले ल्याउन लागेको नयाँ संघीय निजामती सेवा विधेयकको मस्यौदा र हालै गरिएका केही प्रशासनिक निर्णयहरू हुन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाखमा सार्वजनिक गरेको विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउन सक्ने प्रस्ताव गरिएको छ।
हाल कायम रहेको ५८ वर्षे अनिवार्य अवकाशको प्रावधान परिवर्तन भई नयाँ व्यवस्था लागु भएमा पेन्सन सुविधामा कटौती हुन सक्ने त्रास कर्मचारीहरूमा देखिएको छ। धेरैजसो कर्मचारीहरूले यस नयाँ प्रावधानको अन्यौलता र बुझाइको कमीका कारण आफ्नो भविष्य सुरक्षित गर्न अहिल्यै राजीनामाको बाटो रोजेको किताबखानाका उच्च पदस्थ अधिकारीहरू र बहालवाला सचिवहरू स्वीकार गर्छन्। दिनहुँजसो किताबखानामा पुगेर ५५ वर्षे प्रावधान लागु हुँदा र अहिले नै छाड्दा पाइने सेवा-सुविधाको तुलना गर्ने कर्मचारीहरूको भिडले यसको पुष्टि गर्छ।
नीतिगत त्रासबाहेक सरुवा प्रणालीमा गरिएको कडाइ र ट्रेड युनियनको खारेजीले पनि कर्मचारीहरूलाई राजीनामा दिन बाध्य पारेको देखिन्छ। बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार बनेपछि लामो समयदेखि काठमाडौँ लगायतका सुगम क्षेत्रमा बसिरहेका तल्लो तहका कर्मचारीहरूलाई सुदूरपश्चिम र हिमाली जिल्लाहरू जस्ता दुर्गम क्षेत्रमा सरुवा गरिएको थियो। विगतमा यस्ता सरुवाहरूलाई कर्मचारी ट्रेड युनियनको दबाब वा काज मिलाएर बदर गराउने चलन थियो।
तर वर्तमान सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीका ट्रेड युनियनहरू नै खारेज गरिदिएको छ। उक्त खारेजी विरुद्ध कर्मचारीहरू सर्वोच्च अदालत गए तापनि अदालतले समेत उनीहरूको पक्षमा फैसला नगरेपछि सुगम छाड्न नचाहने कर्मचारीहरूका लागि राजीनामा नै अन्तिम विकल्प बन्न पुगेको हो ।
राजीनामा दिनेहरूमा तल्लो तहका कर्मचारी मात्र नभएर माथिल्लो तहका उच्च अधिकारीहरू समेत रहेका छन्। पछिल्लो रेकर्ड अनुसार ६ जना सहसचिव, २ उपसचिव र ४ शाखा अधिकृतको राजीनामा स्वीकृत भइसकेको छ। राजीनामा दिने सहसचिवहरूमा वन मन्त्रालयका राजु सापकोटा र उद्धव घिमिरे तथा पूर्वाधार विकास मन्त्रालय (साबिकको खानेपानी मन्त्रालय) का तीन सहसचिवहरू रहेका छन्।
निजामती सेवा ऐनको नयाँ मस्यौदा जस्ताको त्यस्तै पारित भएमा आफूहरू मर्कामा पर्ने भन्दै अनुभवी र लामो समय काम गरेका उपसचिव, शाखा अधिकृत र नायब सुब्बा तहका कर्मचारीहरूले धमाधम पेन्सन प्रक्रिया अगाडि बढाइरहेका छन्। हालको परिस्थिति र कर्मचारीहरूको चासोलाई हेर्दा आगामी दिनमा राजीनामा दिनेहरूको यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान राष्ट्रिय किताबखानाका कर्मचारीहरूले गरेका छन्।


