Banijya News

केयरगिभर प्रमाणपत्र परीक्षणमा नक्कली भेटिए कारबाही हुने

1
1.0K Shares

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) जाने गरेका छन् । यसपटक केयरगिभरको लागि २ हजार ३ सय जनाको माग गरिएको थियो । अहिले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन भइरहेको छ । तालिम नलिई प्रमाणपत्र बनाउने तथा पैसा लिएर नक्कली प्रमाणपत्र बिक्री गर्ने गरिएको गुनासो आएपछि वैदेशिक रोजगार विभागले प्रमाणपत्रको सत्यता परीक्षण थालेको हो ।

आवेदन प्रक्रियामा सहभागी हुन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी–वान’ तह उत्तीर्ण अनिवार्य गरिएको थियो । यसपटक भाषा परीक्षा दिएकामध्ये ७.८ प्रतिशत मात्र पास भएका छन् । भाषा परीक्षामा १५ हजार ६ सय २६ जनाले परीक्षा दिएकामध्ये १ हजार २ सय ३१ जनाले मात्रै अंग्रेजी भाषा परीक्षा (बी१) पास गरेका हुन् । अंग्रेजी भाषा परीक्षा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत सञ्चालन गरिएको थियो । आवेदन दिनेले अंग्रेजी भाषा परीक्षामा कम्तीमा रिडिङ–ए२, राइटिङ–ए१, लिसनिङ–ए२, स्पिकिङ–बी२ भएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर, अंग्रेजी भाषा परीक्षा दिएकामध्ये ज्यादै थोरैले मात्र भाषा परीक्षा पास गरेका छन् ।

अब विभागले उनीहरूले पेस गरेका केयरगिभर तालिम प्रमाणपत्रको समेत विस्तृत परीक्षण सुरु गरेको हो । यसका लागि विभागले जेठ २० गते सूचना जारी गर्दै सीटीईभीटी, एनएभीटी तथा विभागमा दर्ता भएका सबै तालिम प्रदायक संस्थाबाट प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण मागेको थियो ।

संस्थाहरूले नाम, ठेगाना, तालिम अवधि, प्रमाणपत्र जारी मिति लगायतका विवरण बुझाइसकेका छन् । विभागले अहिले ती विवरण अध्ययन तथा प्रमाणीकरण गरिरहेको जनाएको छ । विभागकी महानिर्देशक मिरा आचार्यका अनुसार, तालिम प्रदायक संस्थाले उपलब्ध गराएका विवरणको छानबिन जारी छ । विभागको अनुगमन तथा जी–टु–जी सहजीकरण (इजरायल) शाखाले ती विवरण अध्ययन गरिरहेको छ ।

विभागको सूचनापछि संस्थाहरूले प्रशिक्षार्थीको विवरण पठाएका छन् । तर, केही संस्थाले छोटो अवधिमै अस्वाभाविक रूपमा धेरै व्यक्तिलाई तालिम दिएको विवरण बुझाएपछि त्यसमाथि विशेष अनुसन्धान भइरहेको बताइएको छ ।

विभागले यसअघि पनि इजरायल रोजगारीका लागि आवेदन दिने क्रममा नक्कली केयरगिभर प्रमाणपत्र व्यापक रूपमा प्रयोग भएको फेला पारेको थियो । २०८१ सालमा खुलेको आवेदनमा सीटीईभीटीबाट मान्यता नपाएका संस्थाको प्रमाणपत्र पेस गर्ने ५०० भन्दा बढी आवेदकको आवेदन रद्द गरिएको थियो ।

विभागको प्रणालीमार्फत ‘सीटीईभीटीमा तालिमको एफिलेसन नभेटिएकाले आवेदन रद्द गरिएको’ भन्ने सूचना प्राप्त भएपछि मात्रै धेरैले आफूले खरिद गरेको प्रमाणपत्र नक्कली रहेको थाहा पाएका थिए । त्यसपछि प्रमाणपत्र किनेकाहरू पैसा फिर्ता माग्न सम्बन्धित तालिम केन्द्र पुगेका थिए ।

अनुसन्धानका क्रममा केही संस्थाले प्रतिव्यक्ति ३० देखि ४० हजार रुपैयाँ लिएर ३ महिनाको केयरगिभर तालिम पूरा गरेको प्रमाणपत्र बिक्री गरेको तथ्य फेला परेको थियो । साथै, ३९० घण्टाको अनिवार्य तालिम नै नदिई प्रमाणपत्र वितरण गरेको खुलेको थियो ।

इजरायल रोजगारीका लागि नर्सिङ, सीएमए वा एएनएम अध्ययन नगरेकाहरूले तीन महिनाको केयरगिभर तालिम अनिवार्य रूपमा पूरा गरेको हुनुपर्छ । विभागले तालिम नलिई झुट्टा विवरण पेस गर्ने आवेदक र गलत प्रमाणपत्र जारी गर्ने तालिम प्रदायक संस्था तथा व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

विभागका प्रवक्ता बिन्दा आचार्यका अनुसार, आवेदन दिने अन्तिम मितिभन्दा अघि कम्तीमा तीन महिना अवधिको तालिम पूरा गरेकाले मात्रै आवेदन दिन पाउने बताएकी थिइन् । तालिम नलिई झुट्टा विवरण पेस गर्ने, तालिम नै नदिई वा अपुग तालिमलाई पूरा भएको देखाएर प्रमाणपत्र जारी गर्ने संस्था वा व्यक्तिविरुद्ध सरकारी निकायमा झुट्टा कागजात पेस गरेको अभियोगमा कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ । विभागले नक्कली प्रमाणपत्र र झुट्टा विवरणका आधारमा इजरायल रोजगारीमा जान खोज्ने प्रयासलाई रोक्न प्रमाणपत्र प्रमाणीकरणलाई थप कडा बनाएको जनाएको छ ।

1

Scroll to Top