गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा काठमाडौंको मीनभवनस्थित एन.के. सिंह मेमोरियल इङ्ग्लिस प्रिपरेटरी सेकेन्डरी स्कूल मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत छुट्टाछुट्टै रूपमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडरियाको पहलमा आयोजित उक्त कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सार्वजनिक स्वास्थ्य र पर्यटन जस्ता राष्ट्रिय महत्वका विषयमा नयाँ पुस्तालाई सचेत र जागरूक बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा प्रस्तुतीकरण, शैक्षिक भिडियो प्रदर्शन तथा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो।
कार्यक्रमको पहिलो सत्रमा क्यान्सर काउन्सिल नेपालका तर्फबाट डा. किशोर कुमार प्रधानाङ्ग र डा. आज्ञा प्रधानाङ्गले क्यान्सर सम्बन्धी सचेतना सत्र सञ्चालन गरेका थिए । उनिहरुले क्यान्सरका प्रारम्भिक लक्षणहरू, रोगबाट बच्ने उपायहरू, स्वस्थ जीवनशैलीको महत्व, सुर्तीजन्य पदार्थको जोखिम, र समयमै गरिने स्वास्थ्य परीक्षणको आवश्यकतामाथि विस्तृत प्रकाश पारे । यसैगरी, दोस्रो सत्रमा गुरु ट्राभल्स लिमिटेडका सेल्स हेड सुमन राज काफ्लेले ‘यात्रामा लगानी गर्नुहोस्’ विषयमा प्रेरणादायी प्रस्तुतीकरण दिँदै नेपालको पर्यटन क्षेत्रको महत्व, आन्तरिक तथा दिगो पर्यटन, यस क्षेत्रमा रहेका करियरका अवसरहरू र देशको अर्थतन्त्रमा पर्यटनको योगदानबारे विद्यार्थीहरूलाई जानकारी गराए ।
विद्यालयकी प्रधानाध्यापक प्रमिला सिंहले विद्यार्थीहरूको व्यक्तिगत विकास, सामाजिक उत्तरदायित्व र भविष्यप्रतिको सकारात्मक सोच निर्माणमा यस्ता ज्ञानमूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थाहरूलाई धन्यवाद व्यक्त गरिन । संयुक्त रूपमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना जगाउनुका साथै जिम्मेवार पर्यटनको अवधारणालाई प्रवर्द्धन गरेको र आगामी दिनमा पनि यस्ता अभियानलाई देशका विभिन्न विद्यालय तथा समुदायमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दुवै संस्थाले व्यक्त गरेका छन्।


