Banijya News

अदालतले फर्काएका सञ्चालकलाई हटाएर वायुसेवामा नयाँ नियुक्ति

1
1.0K Shares

सर्वोच्च अदालतको आदेशसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगममा गरेका ५ जना सञ्चालक सदस्यहरूको नियुक्ति उल्टिएको छ। अदालतको फैसलापछि पर्यटन मन्त्रालयले यसअघिको विवादित नियुक्ति पूर्ण रूपमा रद्द गर्दै नयाँ प्रक्रिया अघि बढाएको छ। यसअघि मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भई कार्यभार सम्हालिसकेका बोर्ड सदस्यहरू डा. दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकालको नियुक्ति मन्त्रालयले खारेज गरेको हो।

सर्वोच्च अदालतको आदेश र योग्यताक्रम (मेरिट लिस्ट) लाई आधार मानी मन्त्रालयले अहिले तीन जनालाई मात्र पुन: नियुक्त गरेको छ। नयाँ निर्णयअनुसार उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला र महेश्वरभक्त श्रेष्ठले निगमको सञ्चालक सदस्यको जिम्मेवारी पाएका छन्। बाँकी दुई पदका लागि भने यसअघि नै आवेदन दिई योग्य ठहरिएका लिलाराज ढकाल र डा. भीम चन्द प्रतीक्षा सूची (वेटिङ) मा रहेका छन्। मन्त्रालयले उनीहरूलाई नियुक्तिपत्र लिन आउन आग्रह गरे पनि हालसम्म बुझ्न अस्वीकार गरेका कारण उक्त दुई पदले औपचारिक रूप पाउन बाँकी रहेको मन्त्रालयको भनाइ छ।

यसैबीच, मन्त्रालयको औपचारिक पत्र र नयाँ नियुक्तिको निर्णय निगममा पुग्नुअगावै वायुसेवा निगमका कर्मचारीहरूले वेबसाइट तथा सञ्चालक समितिको सूचीबाट पुरानो टोलीको नाम हटाइसकेका छन्। मन्त्रालयको आधिकारिक निर्णय नआउँदै हतार-हतार बोर्ड सदस्यहरूको नाम हटाइनुलाई निगमभित्र चासोका साथ हेरिएको छ। नयाँ नियुक्तिमा पनि पुरानै तीन जना सदस्य दोहोरिएर आउने निश्चित हुँदाहुँदै विनाकुनै औपचारिक पत्र बोर्ड सदस्यहरूको विवरण हटाउनु कर्मचारीहरूको ‘चलाखी’ भएको टिप्पणी एक सञ्चालकले गरेका छन्।

1

Scroll to Top