Banijya News

सरकारको लक्ष्य ७ प्रतिशत तर आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

1
1.1K Shares

एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । एडिबीका अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहेको थियो भने सन् २०२७ मा ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य राखे पनि संशोधित अनुमानअनुसार आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने देखिएको छ । जुन लक्ष्यभन्दा करिब ३६ प्रतिशत कम हो ।

जलविद्युत् क्षेत्रको सुधारका कारण औद्योगिक गतिविधि बढेपछि एडीबीले यसअघिको तुलनामा नेपालको वृद्धिदरमा केही सुधार हुने अनुमान गरेको छ । यद्यपि, यो लक्ष्य सरकारले सोचेभन्दा निकै कम देखिन्छ ।

एडीबीको प्रतिवेदन अनुसार आउँदो वर्ष सन् २०२७ मा ४.५ प्रतिशत पुग्ने अनुमान रहेको छ । तर, विश्व अर्थतन्त्रमा देखिएको तनाव, मूल्यवृद्धि र आपूर्ति श्रृंखलामा देखिएका अवरोधका कारण क्षेत्रीय आर्थिक वृद्धिमा दबाब पर्ने एडिबीको आँकलन छ । मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपाल आउने पर्यटक घट्न सक्ने र वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्यामा कमी आउन सक्ने भएकाले सन् २०२७ को वृद्धिदरमा केही धक्का लाग्न सक्ने चेतावनी बैंकले दिएको छ ।

एडीबीका अनुसार, नेपालमा खाद्य वस्तुको आपूर्तिमा भएको सुधारले सन् २०२६ मा मुद्रास्फीति (महँगी) ३.२ प्रतिशतमा सीमित हुने देखिएको छ । तर, सन् २०२७ मा भने इन्धनको मूल्य वृद्धि, सरकारी खर्च बढ्ने र बढ्दो आन्तरिक मागका कारण महँगी बढेर ५.० प्रतिशत पुग्ने प्रक्षेपण एडीबीले गरेको छ ।

दक्षिण एसियाली देशहरूमध्ये सन् २०२६ मा सबैभन्दा बलियो आर्थिक वृद्धिदर भारतको हुनेछ । भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यस्तै, पाकिस्तानको आर्थिक वृद्धिदर सन् २०२६ मा ३.७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । तर, महँगो ऊर्जा (बिजुली/इन्धन) र रेमिट्यान्समा पर्ने दबाबका कारण सन् २०२७ मा पनि उसको वृद्धिदर ३.७ प्रतिशतकै हाराहारीमा खुम्चिनेछ । श्रीलंका र माल्दिभ्सको आर्थिक वृद्धिमा पनि बाह्य क्षेत्रको दबाब र इन्धनको बढ्दो मूल्यले चुनौती थपेको प्रतिवेदनले देखाएको छ ।

1

Scroll to Top