Banijya News

भाटभाटेनीले टंगालमा प्रशासनिक र व्यवसायिक भवन बनाउने, भदौमै सञ्चालनमा ल्याउने लक्ष्य

1
1.1K Shares

भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले काठमाडौं महानगरपालिका–५, टंगालमा आफ्नो प्रशासनिक तथा व्यावसायिक भवन निर्माण गर्ने भएको छ । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन क्षतविक्षत भएकै स्थानमा भाटभटेनीले नयाँ भवन बनाउने भएको हो ।

प्रस्तावित भवनको निर्माण तथा सञ्चालनपूर्व गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अध्ययनको सिलसिलामा कम्पनीले आगामी साउन ५ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनी स्रोतका अनुसार, आगामी भदौमै निर्माण सकेर भवन सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ । आन्दोलन भएको एक वर्षकै अवधिमा नयाँ भवन सञ्चालन गर्न लागिएको हो ।

भदौको जेनजी आन्दोलनका क्रममा ११ वटा स्टोर जलेर पूर्णरूपले नष्ट भएका थिए । ती मध्ये कोटेश्वर, महाराजगञ्ज, बौद्ध, पोखरा र चितवनमा ५ वटा स्टोर र बालुवाटारको वेयरहाउस सञ्चालनमा आइसकेका छन् ।

यसअघि आन्दोलनले क्षतविक्षत भएका स्टोरहरू पनि भाटभटेनीका संस्थापक मिनबहादुर गुरुङले आन्दोलनको केही महिनामै सञ्चालनमा ल्याएका थिए । जतिसुकै व्यवधान आएपनि ‘हिम्मत हार्न नहुने’ सन्देश उनले दिइरहेका छन् । पुनः ठडिएका भाटभटेनीका स्टोर र वेयरहाउसमा उनले ‘हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्‌’ भन्ने सन्देश र भाटभटेनी जलेका फोटोहरू राख्दै आएका छन् । यसमार्फत उनले आफूजस्तै व्यवसायीलाई खरानी टक्टकाएर माथि उठ्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन् ।

काठमाडौं महानगरपालिका ५ मा बन्ने यो प्रशासनिक तथा व्यवसायिक भवनले स्थानीय वातावरणमा पार्न सक्ने प्रभाव र त्यसको न्यूनीकरणका उपायबारे छलफल गर्न सार्वजनिक सुनुवाई गर्न लागिएको हो । सूचनामा उल्लेख भएअनुसार, उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम आगामी साउन ५ गते मंगलबारका दिन बिहान ९ बजे टंगालस्थित आयोजनाकै प्रस्तावित परिसरमा हुनेछ ।

विशेष गरी, काठमाडौँ महानगरपालिकाको वडा नं. ५ लाई प्रत्यक्ष प्रभाव पार्न सक्ने यस भवनका बारेमा स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट राय, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्य प्रस्तावक भाटभटेनीले राखेको छ । आयोजनाको वातावरणीय पक्षलाई पारदर्शी र जनमुखी बनाउनका लागि सम्पूर्ण सरोकारवालाहरूलाई उक्त दिन उपस्थित भई आफ्ना धारणा राख्न कम्पनीले आग्रह गरेको छ । प्रस्तावित भवन निर्माणसँगै सो क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top