Banijya News

आईपीओको दश कित्ते शेयर नीति पुनरावलोकन गर्न अर्थको सुझाव

1
1.0K Shares

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ)मा लागू गरिएको १० कित्ते नीतिको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । १० कित्ते नीतिले शेयर बजारमा दीर्घकालीन लगानी संस्कृति विकास गर्नुको सट्टा छोटो अवधिको नाफामुखी प्रवृत्ति बढाएको भन्दै उक्त नीति पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले अधिकांश सर्वसाधारणले आईपीओमा आवेदन दिनुअघि कम्पनीको बारेमा जानकारी समेत नलिने गरेको बताए । कम्पनीबारे अध्ययन नै नगरी आईपीओ खुल्ने वित्तिकै अधिकांशले ‘मेरो सेयर’ एप खोलेर चिठ्ठा हालेजस्तै आवेदन दिने उनले बताए । १० कित्ते नीतिले साना लगानीकर्तालाई प्रत्यक्ष शेयर बजारमा ल्याए पनि उनीहरूलाई कम्पनीको दीर्घकालीन लगानीकर्ता बनाउन नसकेको भन्दै यस्ता लगानीकर्तालाई म्युचुअल फण्डतर्फ लैजानुपर्ने उनको सुझाव छ । नेपाली शेयर बजारमा दीर्घकालीन लगानी र लाभांशभन्दा पनि छोटो अवधिमा शेयर मूल्य दोब्बर–तेब्बर हुने अपेक्षा हावी रहेको उनले बताए । हाल खुलेका ७०–८० लाख डिम्याट खातामध्ये ठूलो हिस्सा निष्क्रिय रहेको जानकारी दिए ।

धितोपत्र बजारको साक्षरता र प्रवृत्तिका बारेमा चर्चा गर्दै उनले भने, ‘धितोपत्रको समस्या भनेको साक्षरताका कुरा पनि हो । त्यो एउटा भयंकर समस्या छ, अहिले हामी कसैले पनि धितोपत्रमा आईपीओ खुल्यो भने कोही पनि प्रोस्पेक्ट पढ्दैनौं । हामी मेरो सेयर ट्याक्क खोल्छौं, ट्याक्क चिठ्ठा हाले जस्तो एप्लाइ गरिहाल्छौं ।’

केही सीमित मान्छेले पढ्ने गरे पनि अधिकांश १० कित्ता हाल्ने मान्छेले कम्पनीबारे अध्ययन नगर्ने भन्दै उनले थपे, ‘यो १० कित्ते नीति नै सबैभन्दा ठूलो यो धितोपत्रमा नराम्रो कुरो भएर बसेको छ । साना लगानीकर्तालाई हामीले म्युचुअल फण्डमा लानुपर्थ्यो । सबैलाई सेयर धनी बनाउने हिसाबले भरमार १० कित्ता हाल्न लगायौं । १० कित्ता हाल्ने मान्छेले १० वर्षसम्म १० कित्ता हाल्ने मान्छे खोज्न जाँदैन । कम्पनीको एजीएममा पनि जाँदैन, यो कम्पनी कस्तो नि भन्दैन ।’

सेयरमा पैसा हालेपछि पैसा दुई गुणा हुन्छ, तीन गुणा हुन्छ भन्दिएकाले मानिस त्यसमा कुदिरहेका हुन् । अहिले ७०–८० लाख डिम्याट भएको र अधिकांश डिम्याट खाता निष्क्रिय रहेको उनको भनाइ छ । त्यसैले, १० कित्ते नीतिलाई पुनरावलोकन गर्नुपर्ने बेला भएको भन्दै साना लगानीकर्तालाई म्युचुअल फन्डमा लान सकियो भने एउटा समस्या हल हुने उनी बताउँछन् ।

यसैगरी, सेयर बजारमा लाभांशभन्दा पनि छोटो समयमा मूल्य बढाउने होड चलेको भन्दै उनले भने, ‘हाम्रो फन्डामेन्टल नै अर्को चाहिँ खराब के भयो भने सेयर बजारमा हामी सबैजनाको ध्यान चाहिँ सेयरको प्राइस एकदम माथि आओस्, हामी डिभिडेन्ड लिने अथवा लङ टर्ममा लगानी गर्ने भन्नेमै छैनौँ । हामी आज लगानी गरेपछि हामीलाई एक महिनाबीचमा दुई गुणा बढ्नै पर्छ । बढेन भने आन्दोलन गर्नेतिर लागेका छौँ । यसलाई हामीले हटाउन सक्यौं भने यो सुधार हुँदै जान्छ ।’

धितोपत्र बजारमा देखिएका समस्याहरू सुशासनसँग पनि जोडिएको उल्लेख गर्दै आईपीओ प्रक्रियामा देखिने अनियमिततासम्बन्धी विषय नियामकीय सुधारबाट समाधान गर्नुपर्नेमा उनको जोड रहेको छ ।

1

Scroll to Top