नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासलाई तीव्र बनाउन श्रम उत्पादकत्वमा उल्लेखनीय सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार उत्पादनशील र प्रतिस्पर्धी अर्थतन्त्र निर्माणका लागि सीप विकास कार्यक्रम उद्योग–व्यवसायको वास्तविक आवश्यकतासँग जोडिनुपर्छ र त्यसको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा आयोजित उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपाल श्रम उत्पादकत्वका हिसाबले समान प्रकृतिका धेरै मुलुकभन्दा पछाडि रहेको उल्लेख गरे। उपलब्ध तथ्यांकले नेपाल उत्पादकत्वका दृष्टिले तल्लो समूहमा पर्ने देखाएको भन्दै उनले हाल सञ्चालन भइरहेका सीप विकास कार्यक्रमले अपेक्षित उपलब्धि दिन नसकेको धारणा राखे।
उनका अनुसार अहिले विभिन्न मन्त्रालय र सरकारी निकायले छुट्टाछुट्टै रूपमा तालिम सञ्चालन गरिरहेका कारण स्रोतको प्रभावकारी उपयोग हुन सकेको छैन। एउटै उद्देश्यका कार्यक्रम धेरै निकायबाट सञ्चालन हुँदा नतिजा कमजोर भएको उनको भनाइ थियो।
पाण्डेले नेपालले दीर्घकालीन रूपमा ठूलो आकारको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पूरा गर्न दक्ष जनशक्तिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले तालिम दिने संस्थाले कति व्यक्ति उत्पादन गरे भन्नेभन्दा उद्योगलाई कस्तो दक्ष जनशक्ति आवश्यक छ भन्ने मागका आधारमा तालिम प्रणाली सञ्चालन हुनुपर्नेमा जोड दिए।
उनका अनुसार पाठ्यक्रम निर्माण, तालिम सञ्चालन, मूल्यांकन, सीप परीक्षण र प्रमाणीकरणसम्म निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न सके मात्रै रोजगारी र उत्पादनबीचको दूरी घटाउन सकिन्छ। उद्योग नै अन्तिम रोजगारदाता भएकाले सीप विकास प्रणाली पनि उद्योगमैत्री हुनुपर्ने उनले बताए।
परिसंघले केही समयअघि सञ्चालन गरेको सीप विकास कार्यक्रममार्फत ३ हजार ३ सय ७५ जनालाई तालिम प्रदान गरिएको र तीमध्ये करिब ३ हजार २ सय जनाले रोजगारी प्राप्त गरेको जानकारी पनि उनले दिए। यसले निजी क्षेत्रको सहभागितामा सञ्चालन गरिएका कार्यक्रम बढी प्रभावकारी हुन सक्ने उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो।
सरकारी अप्रेन्टिसिप कार्यक्रम कार्यविधिगत जटिलताका कारण प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै उनले समयअनुकूल कानुनी तथा प्रशासनिक सुधार आवश्यक रहेको बताए। दुई वर्षअघिको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को तथ्यांकले तालिममा भर्ना, तालिम पूरा गर्ने र रोजगारी प्राप्त गर्ने दर अपेक्षाकृत न्यून रहेको देखाएको भन्दै उनले समग्र उपलब्धि अझै सन्तोषजनक नरहेको बताए।
अध्यक्ष पाण्डेले उद्योगको प्रतिस्पर्धात्मक क्षमता, उत्पादन लागत र समग्र आर्थिक विकास दक्ष जनशक्तिमा निर्भर रहने उल्लेख गर्दै मानव पुँजी विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले साना उद्योगका लागि सामूहिक तालिम, ठूला उद्योगका लागि दीर्घकालीन सीप विकास कार्यक्रम तथा सरल भर्ना प्रणाली लागू गर्न सुझाव दिए।
उनले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सके उद्योगको क्षमता वृद्धि हुनुका साथै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पनि उच्च आय आर्जन गर्ने अवसर बढ्ने विश्वास व्यक्त गरे। साथै, प्राविधिक शिक्षा तथा सीप विकास क्षेत्रमा रहेका नीतिगत र व्यवहारिक समस्याको समाधानका लागि उद्योग परिसंघ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे।


