केही सातादेखि निरन्तर दबाबमा परेको नेपाली पुँजी बजारमा एकाएक उत्साह फर्किएको छ। सरकारको उच्च तहबाट पुँजी बजारप्रति सकारात्मक सन्देश आउनु, प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ता, ब्रोकर, बिमा कम्पनी तथा अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गर्नु र सुधारका प्रतिबद्धता सार्वजनिक गर्नुले बजारमा नयाँ मनोवैज्ञानिक ऊर्जा थपेको देखिएको छ। यही विश्वासका कारण पछिल्ला तीन कारोबार दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) उल्लेख्य रूपमा उकालो लागेको छ भने लगानीकर्ताको सम्पत्तिमा करिब दुई खर्ब १४ अर्ब रुपैयाँ बराबरको वृद्धि भएको छ।
पछिल्ला केही महिनायता लगानीकर्ताको मनोबल कमजोर बनेको थियो। नयाँ सरकार गठनपछि बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको करिब पाँच खर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको आँकडा सार्वजनिक भएपछि सरकारमाथि दबाब पनि बढ्दै गएको थियो। यही पृष्ठभूमिमा प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गर्दै पुँजी बजारलाई आर्थिक विकास, उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। उनको अभिव्यक्तिले बजारमा तत्काल सकारात्मक प्रभाव पार्यो।
प्रधानमन्त्रीले सरकारले राम्रो काम गर्ने व्यवसायी र लगानीकर्तालाई सदैव प्रोत्साहन गर्ने स्पष्ट पार्दै अनियमितता र गलत अभ्यासप्रति भने शून्य सहनशीलताको नीति अपनाइने बताए। उनले नेपालको पुँजी बजारलाई पारदर्शी, व्यावसायिक, विश्वसनीय र मर्यादित बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको दोहोर्याए। लगानीकर्तालाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गर्दै उनले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्रीको यही सक्रियतासँगै बजारले उल्लेखनीय सुधार देखाएको छ। गत बिहीबारदेखि मंगलबारसम्मको अवधिमा नेप्से परिसूचक करिब १२८ अंकले बढेको छ। कुल बजार पुँजीकरण पनि ४४ खर्ब ७० अर्ब रुपैयाँबाट बढेर करिब ४६ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। यसले छोटो अवधिमै लगानीकर्ताको सम्पत्तिमा दुई खर्बभन्दा बढी वृद्धि गराएको छ।
बजारमा आएको सुधारसँगै धेरै कम्पनीको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ। केही कम्पनीको सेयर मूल्य तीन कारोबार दिनमै ५०० रुपैयाँसम्म बढेको छ भने ८१ वटा कम्पनीको मूल्य सातदेखि २७ प्रतिशतसम्मले उकालो लागेको छ। रिड्ज लाइन इनर्जी, श्रीनगर एग्रिटेक, शिखर पावर डेभलपमेन्ट, हिमस्टार ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स, नेसनल हाइड्रो, सोलु हाइड्रो र रिडी हाइड्रोपावरजस्ता कम्पनीका लगानीकर्ताले छोटो अवधिमै उल्लेखनीय प्रतिफल प्राप्त गरेका छन्।
बैंकमा मुद्दती निक्षेपमा रकम राख्दा वार्षिक अधिकतम छ प्रतिशत हाराहारी ब्याज पाइने वर्तमान अवस्थामा केही दिनमै १६ देखि २७ प्रतिशतसम्म प्रतिफल प्राप्त हुनु स्वाभाविक रूपमा आकर्षक मानिएको छ। यही कारण बजार बढेसँगै धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्ने रणनीति अपनाउन थालेका छन्। यसले बजारको वृद्धिदर केही सुस्त बनाएको देखिन्छ।
प्राविधिक सूचकहरूले पनि मिश्रित संकेत दिएका छन्। मंगलबार एकुमुलेसन–डिस्ट्रिब्युसन सूचक करिब १६ लाखले ऋणात्मक देखिएको छ, जसले केही रकम बजारबाट बाहिरिएको संकेत गर्छ। तर पछिल्लो एक महिनाको समग्र अवस्थालाई हेर्दा डिस्ट्रिब्युसनभन्दा एकुमुलेसन करिब ११ लाखले बढी रहेको देखिन्छ। यसको अर्थ बिक्रीभन्दा खरिद अझै पनि केही बढी छ र लगानीकर्ताले सेयर संकलन गर्ने क्रम जारी राखेका छन्।
त्यस्तै १४ दिने मनी फ्लो इन्डेक्स सोमबार ६३ विन्दुमा पुगेको थियो भने मंगलबार ५३ मा झरेको छ। यद्यपि यो सूचक अझै पनि सन्तुलित क्षेत्रमा रहेकाले बजारमा नयाँ रकम प्रवेश भइरहेको संकेत मिलिरहेको विश्लेषकहरू बताउँछन्। मूल्य र कारोबार रकमलाई आधार बनाएर बजारमा खरिद–बिक्रीको दबाब मापन गर्ने यो सूचकले तत्काल ठूलो जोखिम देखाएको छैन।
प्राविधिक विश्लेषणतर्फ हेर्दा पछिल्ला कारोबारमा ‘डेलिबरेशन बियरिस’ शैलीको मैनबत्ती आकृति देखिएको छ। शुक्रबार र सोमबार हरियो मैनबत्ती बनेपछि मंगलबार लामो धागो भएको ‘दोजी’ आकृति बनेको छ। यसले बुलिस प्रवृत्तिको गति केही कमजोर हुन सक्ने संकेत गरे पनि यो अझै निर्णायक अवस्था होइन। यदि आगामी कारोबारमा लगातार रातो मैनबत्ती बनेमा अल्पकालीन करेक्सन आउन सक्ने सम्भावना विश्लेषकहरूले औंल्याएका छन्।
दीर्घकालीन दृष्टिकोणबाट हेर्दा भने ५० दिने र २०० दिने मुभिङ एभरेज रेखा अझै समानान्तर रूपमा अघि बढिरहेका छन्। ५० दिने औसत रेखाले २०० दिने रेखालाई माथिबाट पार गरेमा बजारमा दीर्घकालीन बुलिस प्रवृत्ति बलियो बन्ने सम्भावना रहन्छ। उल्टो अवस्था आएमा भने बजार फेरि दबाबमा पर्न सक्छ।
सोमबार मात्रै नेप्से परिसूचक ४१.७० अंकले बढेर २ हजार ७१९.२४ बिन्दुमा पुगेको थियो। कारोबार भएका ३४३ कम्पनीमध्ये २३९ कम्पनीको मूल्य बढेको, ३२ कम्पनीको मूल्य घटेको र पाँच कम्पनीको मूल्य स्थिर रहेको थियो। एक करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रह्यो भने रिलायन्स स्पिनिङ, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक र नेसनल हाइड्रोपावर पनि सक्रिय कारोबार भएका कम्पनीमा परे।
उपसमूहगत रूपमा पनि बजारमा व्यापक हरियाली देखियो। १३ मध्ये १२ उपसमूह सकारात्मक रहे। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढ्दा जलविद्युत्, होटल तथा पर्यटन, लगानी, विकास बैंक, फाइनान्स र बैंकिङ समूहले पनि उल्लेखनीय वृद्धि दर्ता गरे। म्युचुअल फन्ड समूह मात्रै सामान्य रूपमा घटेको थियो।
प्रधानमन्त्रीसँगको छलफलमा सरोकारवालाले पुँजी बजार सुधारका लागि दीर्घकालीन एजेन्डा पनि प्रस्तुत गरेका छन्। उनीहरूले आईपीओ प्रणालीलाई थप पारदर्शी र वैज्ञानिक बनाउन, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्ने व्यवस्था गर्न, दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा माथि पुर्याउने वातावरण तयार गर्न तथा बजारलाई थप प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन्।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामार्फत हुने मार्जिन कारोबारलाई सहज बनाउन, धितोपत्र लगानीमा रहेको छ महिनाको बिक्री प्रतिबन्ध हटाउन, सेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्न, व्यक्तिगत लगानीकर्ताले भोगेको नोक्सानीलाई कर समायोजनमा समावेश गर्न तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्नुपर्ने माग पनि उठाइएको छ। गैरआवासीय नेपालीलाई नेपाली पुँजी बजारमा लगानीको अवसर खुला गर्ने विषयलाई समेत सरोकारवालाले प्राथमिकताका साथ अघि सारेका छन्।
नियामक निकायहरूले भने सुधार प्रक्रिया सुरु भइसकेको दाबी गरेका छन्। नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षको पुँजी बजार नीति तथा मार्गचित्र कार्यान्वयनमा ल्याइसकेको जनाएको छ भने नेप्से व्यवस्थापनले कानुनी संशोधन र संस्थागत पुनर्संरचनाको प्रक्रिया अघि बढिरहेको जानकारी दिएको छ।


