Banijya News

सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सर्वोच्चको आदेश

1
1.1K Shares

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ । अदालतले गत असार ३० गते भएको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारी विज्ञापनमा गरिँदै आएको विभेद अन्त्य हुने गरी आदेश दिएको हो ।

सरकारले २०८२ चैत १८ गते निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो । उक्त निर्णयलाई सर्वोच्च अदालतले उत्प्रेषणको आदेशमार्फत बदर गरिदिएको थियो ।

फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘सरकारले सार्वजनिक तथा निजी सञ्चार माध्यमबीच विभेदपूर्ण व्यवहार गर्न वा सरकारी सूचना तथा विज्ञापनको प्रकाशन–प्रसारणमा भेदभाव गर्न मिल्ने कानुनी व्यवस्था सञ्चारसम्बन्धी ऐन, २०७६ लगायत कुनै पनि कानुनमा रहेको देखिँदैन । यस्तो निर्णयले सञ्चारको हक तथा अन्ततः विचार र अभिव्यक्तिको स्वतन्त्रताको उपभोगमा प्रतिकूल असर पर्ने भएकाले प्रत्यर्थीबाट मिति २०८२/१२/१८ मा गरिएको निर्णय संविधान र कानुन अनुकूल मान्न मिलेन। तसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवबाट मिति २०८२/१२/१८ मा गरिएको विवादित निर्णय तथा सोसम्बन्धी पत्राचार कायम रहन नसक्ने भएकाले नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।’

फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मिडियामा विभेदको अन्त्य मात्रै नभई नेपालको मिडिया उद्योगलाई बचाउने सञ्जिवनी बुटीको कार्य सर्वोच्चको फैसलाले गरेको मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता लुईंटेलको भनाइ छ । लुईंटेलका अनुसार, सरकारी र निजी गरी १० अर्बको बजेट रहेको नेपाली मिडिया विज्ञापनको अर्थतन्त्र अब समानुपातिक रुपमा विभाजन हुने भएकोले निजी मिडिया विज्ञापन नपाएकै कारणले मर्नुपर्ने अवस्थाबाट जोगिएको छ ।

१८ चैतको विभेदकारी निर्णय तथा परिपत्र बदरको माग गर्दै अधिवक्ता लुईंटेलले सर्वोच्च अदालतमा २४ चैतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटउपरको अन्तिम सुनुवाई २२ र २३ असारमा सम्पन्न भएको थियो ।

१८ चैतको सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचनाहरू संचारमाध्यममार्फत प्रकाशन तथा प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह तथा सो अन्तर्गतका निकायहरू तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरूले आफ्‌ना सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्र प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरी सबै निकायमा परिपत्र गरेको थियो ।

1

Scroll to Top