सरकारले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा निजी क्षेत्रका सुझाव समेट्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रमुख उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बैठकमा मुलुकका उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएका झण्डै तीन दर्जन उद्योगी–व्यवसायी सहभागी हुनेछन्।
अर्थ मन्त्रालयका अनुसार छलफलको मुख्य एजेन्डा बजेटमा घोषणा गरिएका उद्योग, लगानी, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना तथा निजी क्षेत्रलाई लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयन रहनेछ। उद्योगीहरूले कार्यान्वयनका क्रममा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्याबारे पनि आफ्ना धारणा राख्नेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी, अर्थ मन्त्रालयका महाशाखा प्रमुख तथा सम्बन्धित विभागका उच्च अधिकारीहरूको सहभागिता रहनेछ। छलफलबाट प्राप्त सुझावलाई आगामी नीति कार्यान्वयन तथा आवश्यक सुधारका आधारका रूपमा उपयोग गरिने मन्त्रालयले जनाएको छ।
पछिल्ला केही वर्षयता निजी क्षेत्रले लगानीमैत्री वातावरण, सहज कर्जा प्रवाह, कर प्रणालीमा स्थायित्व तथा औद्योगिक पूर्वाधार विस्तारको माग गर्दै आएको छ। यसै सन्दर्भमा सरकारले निजी क्षेत्रसँग नियमित संवाद बढाउने नीति लिएको देखिन्छ।
अर्थविद्हरूका अनुसार बजेट सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य भएकाले यस्तो संवादले उत्पादन वृद्धि, औद्योगिक विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरकारले आगामी महिनाहरूमा पनि विभिन्न क्षेत्रका सरोकारवालासँग यस्तै परामर्शलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ।


