Banijya News

क्यान महासंघ र महर्षि कलेजबीच प्रविधि शिक्षा विस्तारका लागि सम्झौता

1
1.1K Shares

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता (एआई) र अत्याधुनिक प्रविधि शिक्षा विस्तार गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक समझदारी भएको छ। क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यद्वारा हस्ताक्षर गरिएको यो सम्झौताले प्रविधि शिक्षालाई काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

यस सहकार्यअन्तर्गत युवाहरूका लागि कोडिङ बुटक्याम्प, ह्याकाथन, इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्क्युबेसन सहयोग र शिक्षक क्षमता अभिवृद्धिका विभिन्न व्यावहारिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसले विद्यार्थीलाई प्रविधिको केवल उपभोक्ताबाट डिजिटल नवप्रवर्तक बन्न मद्दत गर्ने विश्वास लिइएको छ।

क्यान महासंघ र महर्षि कलेजको यो साझेदारीले शैक्षिक ज्ञानलाई उद्योगको आवश्यकतासँग जोड्दै नेपाली युवाहरूलाई एआईको निर्माणकर्ता तथा दक्ष जनशक्ति बनाउन मद्दत पुर्‍याउनेछ। विश्वव्यापी रूपमा बढ्दो डिजिटल प्रविधिको प्रयोगबीच गरिएको यो पहललाई नेपालको डिजिटल अर्थतन्त्र विकासतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

1

Scroll to Top