सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिएपछि अस्पतालको प्रशासनिक अनुशासनप्रति नै प्रश्न उब्जिएको छ ।
अस्पतालको आधिकारिक हाजिरी रजिस्टरमा साउन १२ गतेको समय मात्र बितेको अवस्थामा डा. यादवले साउन २८ गतेसम्मकै हस्ताक्षर गरिसकेको पाइएको छ । अस्पताल स्रोतका अनुसार, असार महिनाको पहिलो साता नै उनले हाजिरी गरेका हुन् । यसले सरकारी कार्यालयमा कर्मचारी उपस्थितिको अभिलेखको विश्वसनीयतामाथि नै शंका उत्पन्न गरेको छ ।
यो घटना बाहिरिएपछि सोको जवाफमा उनले यसलाई कहिलेकाहीँ हुने सामान्य त्रुटि भएको दाबी गरेका छन् । साउन १२ गतेमै २८ गतेसम्मको हाजिर कसरी भयो भन्ने प्रश्नमा उनले कहिलेकाहीँ मिस्टेक हुन सक्छ भन्दै थप केही नबताएको बुझिएको छ । स्रोतका अनुसार, डा. यादवले दुई–तीन महिनामा एकैचोटी हाजिरी गर्ने गरेका छन् ।
स्रोतका अनुसार करिब चार वर्षअघि करार सेवा नवौं तहमा नियुक्त भएर अस्पतालको प्रमुख बनेका डा. लुस्युनकुमार यादव नगर प्रमुख रामऔतार यादवका छोरा हुन् । उनी करार सेवामा नगर आधारभूत अस्पतालमा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
यस घटनाले सरकारी कार्यालयमा हाजिरी व्यवस्थापन, कर्मचारीको उत्तरदायित्व र प्रशासनिक पारदर्शिताबारे ठूलो संशय पैदा गरेको छ । सम्बन्धित निकायबाट यस विषयमा के–कस्तो छानबिन हुन्छ/हुँदैन, समयले बताउने छ ।


