सहकारी ठगी तथा बचत अपचलनको समस्या एकपछि अर्को बढ्ने क्रममा छ । राष्ट्रिय समस्याकै रुपमा फैलिएको सहकारी ठगीका घटना बढ्दै जाँदा अन्ततः ती आम सर्वसाधारण नै पीडित बन्न पुगेका छन् ।
यसै क्रममा काठमाडौं महानगरपालिकाअन्तर्गतका सहकारीका हजारौं बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छैनन् । गत असारसम्ममा काठमाडौंका १८७ सहकारीका १० हजार २ सय ३४ बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । सहकारीमा उनीहरुको ८ अर्ब १९ करोड ५८ लाख २६ हजार रुपैयाँ फिर्ता पाउन बाँकी छ ।
त्यसो त, सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन एक अर्बभन्दा धेरै रकम भएका संस्था पनि छन् । न्युरोडमा कार्यालय रहेको अभिमत बचत तथा ऋण सहकारी संस्थाले कुल २ अर्ब १८ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने निवेदन परेको बताइन्छ ।
त्यसो त, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्नेदेखि सहकारीलाई प्रभावकारी नियमन तथा कार्यक्षेत्र अनुसार नियामकलाई पूर्ण अधिकार दिइ रकम फिर्ता गर्न सक्ने कानुनी व्यवस्था गरेको छ ।
स्थानीय निकाय, प्रदेश र संघ तथा राष्ट्रिय सहकारी प्राधिकरणले बचतकर्ता तथा सञ्चालकलाई छलफलमा राख्ने, बचत फिर्ता दिलाउनदेखि समस्याग्रस्त घोषणा गरी बचतकर्ताको पक्षमा काम गर्न सक्छन् । तैपनि, एकपछि अर्को सहकारी समस्यामा पर्ने क्रम बढ्दै गएको देखिन्छ ।
काठमाडौं महानगरमा मात्र १८७ सहकारीका बचतकर्ताले रकम फिर्ता माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानमा जोडिन आएको बताइएको छ । पटक–पटक ताकेता गरेर बचत फिर्ता गराउने प्रयास महानगरले गरे पनि त्यसमा सफल हुन सकेको छैन ।
रकम फिर्ता दिन नसकेका १८७ सहकारीमध्ये ५८ वटाका सञ्चालक र बचतकर्तालाई सहमत गराएर किस्ताबन्दीमा बचत फिर्ता गराइएको काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख धु्रव काफ्लेले बताए । मेलमिलापको प्रक्रियाबाट नै बचत फिर्ता नियमित गराइएको उनको भनाइ छ ।
काफ्लेका अनुसार, ती सहकारीले तरल मौज्दातका आधारमा फिर्ता गरेका छन् । चार वटा सहकारी संस्थालाई समस्याग्रस्तका लागि सिफारिस गरे पनि सोको निर्णय भएको छैन । महानगरको सहकारी विभागले सिफारिस गरेपछि नगर कार्यपालिकाले समस्याग्रस्त घोषणा गर्ने उनी बताउँछन् ।
नगर कार्यपालिकाले अहिलेसम्म कुनै पनि सहकारी समस्याग्रस्त घोषणा गरेको छैन । सिफारिस भएको तर समस्याग्रस्त घोषणा नभइसकेको अवस्थामा सञ्चालकहरू आएर समस्याग्रस्त घोषणा नगर्न अनुरोध गर्दै सहकारी सञ्चालन गर्ने र बचत फिर्ता गर्ने बताउँछन् । यसले गर्दा पनि समस्याग्रस्त घोषणा प्रक्रिया रोकिने गरेको काफ्लेको भनाइ छ । तर त्यस्तो अवस्थामा बचत फिर्ता गर्ने योजना महानगरले माग्ने गरेको छ ।
२० जना सदस्य वा २५ प्रतिशत सदस्यले समस्याग्रस्त घोषणा गरी पाउँ भनेर निवेदन दिएको खण्डमा प्रक्रिया सुरु हुने गरेको छ । तर बाँकी ७५ प्रतिशत सदस्यले साधारणसभा गरेर समस्या समाधान गर्छौँ भनेको खण्डमा समस्याग्रस्त घोषणा गर्ने प्रक्रिया रोकिने उनले बताए । महानगरले केही समयअघि सम्पर्कमै नरहेका १ हजार १४८ वटा सहकारीको सूची प्रकाशित गरेको थियो । तीमध्ये केही सहकारी संस्था सम्पर्कमा आएको काफ्लेले बताए ।
त्यस्तै, सहकारी संस्था राखिएका घरबेटीले पनि भाडा नतिरेको भनी कोठा खाली गरिदिनु भनेर महानगरको न्यायिक समितिमा उजुरी हालेको खण्डमा खाली गरिदिने वा बन्द भएका सहकारीको हकमा सिधै कारबाहीका लागि लेख्ने गरिएको उनले बताए ।
जेठ मसान्तसम्म काठमाडौं महानगरमा दर्ता भएका सहकारीको संख्या १ हजार ९१२ मध्ये सम्पर्कमा नभएका १ हजार १४८ को सूची निकालिएको छ । यदि समस्याग्रस्त घोषणा भएका संस्थाको पनि ऋण उठ्यो र बचतकर्ताले रकम फिर्ता पाए भने सञ्चालकलाई सहकारी चलाउने विकल्प पनि दिइने महानगरले जनाएको छ । तर, दर्ता मात्र भएका, सदस्य तथा सञ्चालक कोही पनि सम्पर्कमा नआएको अवस्थामा पनि सिधै कारबाहीको सिफारिस गर्ने गरेको छ ।
हाल समस्यास्यग्रस्त घोषणा भएका सहकारीको संख्या केन्द्रमा २३ रहेको छ भने बागमती प्रदेशमा ५ रहेको छ । यी सहकारीको हकमा सरकारले चक्रिय कोष स्थापना गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत साना बचकर्ताको रकम फिर्ता गर्दै आएको छ । हालसम्म कोषमार्फत एक हजार ७ सय बचतकर्तालाई कुल ३ करोड रुपैयाँ वितरण गरिसकेको छ ।


