Banijya News

नेपाल-जापान सम्बन्धलाई आर्थिक साझेदारीको नयाँ चरणमा लैजान निजी क्षेत्र सक्रिय हुनुपर्छ : अध्यक्ष अग्रवाल

1
1.1K Shares

नेपाल-जापान सम्बन्धलाई आर्थिक साझेदारीको नयाँ चरणमा लैजान निजी क्षेत्र सक्रिय हुनुपर्छ : अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र जापानबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई अब व्यापार, लगानी र प्रविधिमुखी आर्थिक सहकार्यतर्फ अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले दुई देशबीच रहेको विश्वास र सहकार्यको आधारलाई उपयोग गर्दै निजी क्षेत्रले आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन अग्रसर हुनुपर्ने बताए।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले नेपालका विकास प्रयासमा जापानले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनका अनुसार जापानले केवल आर्थिक सहायता मात्र नभई आधुनिक प्रविधि, सीप विकास, संस्थागत क्षमता अभिवृद्धि तथा दिगो विकासका क्षेत्रमा समेत नेपाललाई दीर्घकालीन सहयोग गर्दै आएको छ।

उनले जापान सरकारसँगै जाईका, एओटीएस, जेट्रो र मेटीजस्ता संस्थाहरूले शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पूर्वाधार, यातायात, विपद् व्यवस्थापन तथा औद्योगिक विकासमा खेलेको भूमिका उल्लेखनीय रहेको बताए। बीपी राजमार्ग र नागढुंगा सुरुङमार्गजस्ता पूर्वाधार परियोजनाहरू नेपाल–जापान सहकार्यका सफल उदाहरण भएको उनको भनाइ थियो।

अध्यक्ष अग्रवालले जापानमा अध्ययन र रोजगारीका अवसर प्राप्त गरेका नेपाली युवाहरूले आर्जन गरेको ज्ञान, सीप, अनुशासन र कार्यसंस्कृतिले नेपालको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पारिरहेको बताए। विदेशमा हासिल गरेका अनुभवलाई नेपालमा उद्यमशीलता, नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत उपयोग गरिनु मुलुकको दीर्घकालीन विकासका लागि महत्वपूर्ण हुने उनले उल्लेख गरे।

उनका अनुसार नेपाल र जापानबीच व्यापार तथा लगानीको वर्तमान अवस्था अझै पनि सम्भावनाको तुलनामा सीमित छ। तर यसलाई कमजोरीका रूपमा नभई भविष्यका अवसरका रूपमा हेर्नुपर्ने उनले बताए। विशेषगरी जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, स्वास्थ्य, शिक्षा, पूर्वाधार, डिजिटल सेवा तथा लजिस्टिक्सका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्न सकिने उनको धारणा थियो।

अग्रवालले जापानको उन्नत उत्पादन प्रणाली, रोबोटिक्स, अटोमेसन, गुणस्तर व्यवस्थापन र हरित प्रविधिको अनुभवलाई नेपालको युवा जनशक्ति, प्राकृतिक स्रोतसाधन तथा क्षेत्रीय बजारसम्मको पहुँचसँग जोड्न सके दुवै देशले पारस्परिक लाभ लिन सक्ने बताए। उनले कृषि तथा प्रशोधन उद्योग, व्यावसायिक तथा प्राविधिक शिक्षा, डिजिटल रूपान्तरण, पर्यटन तथा आतिथ्य सेवा, स्टार्टअप प्रवर्द्धन, साना तथा मझौला उद्यम विकास र दिगो पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।

नेपाल चेम्बर अफ कमर्सले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न निरन्तर पहल गरिरहेको उल्लेख गर्दै उनले लगानीमैत्री नीति, व्यापार सहजीकरण र निजी क्षेत्रबीचको सहकार्य विस्तारका लागि सरकार तथा अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल एओटीएस एलुम्नाइ सोसाइटीले जापानमा अध्ययन तथा तालिम प्राप्त नेपाली व्यवसायी र पेशाकर्मीलाई एउटै सञ्जालमा आबद्ध गराउँदै दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए। उनले भविष्यमा नेपाल–जापान सम्बन्ध सरकार–सरकारबीचको कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही निजी क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा नागरिकस्तरसम्म विस्तार हुनुपर्ने धारणा व्यक्त गर्दै त्यसबाट दुवै मुलुकले दिगो आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

1

Scroll to Top