अर्थ मन्त्रालय र मातहतका निकायले गत आर्थिक वर्षमा ७३.२१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेका छन् । मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा चालु प्रकृतिको खर्च लक्ष्यको ६८.३७ प्रतिशत र पूँजीगत खर्च ८८.३४ प्रतिशत बराबर भएको छ ।
गत आवमा अर्थ मन्त्रालय र मातहतका निकायको कुल बजेट ३८ अर्ब ९९ करोड ७० लाख थियो । यसमध्ये खर्च २८ अर्ब ५५ करोड ८ लाख बराबर भएको छ । गत आवमा चालु प्रकृतिको बजेट २९ अर्ब ५४ करोड विनियोजन गरिएकोमा खर्च २० अर्ब २० करोड बराबर भएको छ ।
पूँजीगत बजेट ९ अर्ब ४५ करोड विनियोजन भएकोमा खर्च ८ अर्ब ३४ करोड बराबर भएको छ । पूँजीगततर्फ सबैभन्दा धेरै बजेट मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालमा ७ अर्ब १२ करोड विनियोजन भएको थियो । खर्च भने ७ अर्ब ५३ करोड भएको छ । विनियोजनभन्दा बढी खर्च यस परियोजनामा भएको छ ।
यस वर्ष सरकारको कुल बजेट खर्च १५ खर्ब ८१ अर्ब रुपैयाँ भएको छ । जसमध्ये पूँजीगत खर्च गत आवको यसै अवधिको तुलामा १४.७८ प्रतिशतले घटेको छ । चालु खर्च भने ९.०७ प्रतिशतले बिस्तार भएको छ । सरकारले चालु खर्च ११ खर्ब ८० अर्ब विनियोजन गरेकोमा खर्च १० खर्ब ४३ अर्ब बराबर भएको छ । जुन विनियोजनको ८८.३४ प्रतिशत हो ।
पूँजीगत बजेट ४ खर्ब ७ अर्ब विनियोजन गरिएकोमा खर्च १ खर्ब ९० अर्ब ८७ करोड मात्र भएको छ । जुन ४६.७९ प्रतिशत मात्र हो । वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएकोमा खर्च ३ खर्ब ४७ अर्ब रुपैयाँ मात्र भएको छ ।


