साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत शुक्रबार बढेर बन्द भएको नेप्से आजसामान्य अंक घटेर बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक १.२० अंक घटेर २६८४.३३ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ । बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको पाइएको छ ।
पहिलो दिन सोमबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको देखिएको छ ।
एभरेष्ट कलर लिमिटेडको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य १९६ रुपैयाँ ३० पैसा बढेर १ हजार ५०५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबारमा आएको रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २७ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै, रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ ।


