Banijya News

आकाशमा दुर्लभ खग्रास सूर्यग्रहण देखिँदै, नेपालबाट भने देखिँदैन

1
1.1K Shares

आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। सूर्य, चन्द्रमा र पृथ्वी एक विशेष ज्यामितीय अवस्थामा आउँदा बन्ने यो खगोलीय घटना उत्तरी गोलार्धका केही सीमित भूभागबाट पूर्ण रूपमा देखिनेछ। तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश क्षेत्र भने यसको प्रत्यक्ष अवलोकनबाट वञ्चित हुनेछन्।

खग्रास सूर्यग्रहणको पूर्ण स्वरूप उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर आन्ध्र महासागर तथा स्पेन र पोर्चुगलका केही भूभागबाट देखिनेछ। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण ग्रहणको साँघुरो मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान गरिएको छ।

त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै क्षेत्रबाट आंशिक ग्रहण देखिनेछ। यसका कारण करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले छेकेको दृश्य हेर्न पाउने अनुमान छ।

ग्रहणको छाया उत्तरी रुसबाट अघि बढ्दै ग्रिनल्यान्ड, आइसल्यान्ड र उत्तर आन्ध्र महासागर हुँदै युरोपतर्फ सर्नेछ। त्यसपछि पूर्ण ग्रहणको मार्ग स्पेनसम्म पुग्नेछ।

पूर्णताको चरणमा चन्द्रमाले सूर्यको उज्यालो सतहलाई पूर्ण रूपमा ढाक्नेछ। अधिकांश स्थानमा यो अवस्था दुई मिनेटभन्दा कम समय रहनेछ भने केही क्षेत्रमा दुई मिनेटभन्दा केही बढी समयसम्म पूर्ण ग्रहण देखिन सक्ने नासाले जनाएको छ।

स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहरबाट पूर्ण ग्रहण देखिनेछ। लियोनमा स्थानीय समयअनुसार साँझ करिब ८ः२८ बजे पूर्ण ग्रहण सुरु हुने र करिब दुई मिनेट रहने अनुमान गरिएको छ। आइसल्यान्डको राजधानी रेक्जाभिकबाट भने साँझ करिब ५ः४८ बजे पूर्ण ग्रहण देखिनेछ।

सूर्यग्रहण पृथ्वीका सबै स्थानबाट देखिने घटना होइन। चन्द्रमाले सूर्यको प्रकाश छेक्दा बन्ने छाया पृथ्वीको सीमित क्षेत्रमा मात्र पुग्ने भएकाले ग्रहण देखिने स्थान पनि त्यही छायाको मार्गमा निर्भर हुन्छ।

यसपटक चन्द्रमाको पूर्ण छाया अर्थात् ‘उम्ब्रा’ उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै जानेछ। त्यसको मार्गमा उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर आन्ध्र महासागर र स्पेनका केही भाग पर्छन्। नेपाल उक्त छाया क्षेत्रभन्दा बाहिर रहेकाले यहाँबाट न पूर्ण न त आंशिक सूर्यग्रहण नै देखिनेछ। भारतबाट पनि ग्रहण अवलोकन गर्न नसकिने जनाइएको छ।

यसपटकको ग्रहण युरोपका लागि विशेष खगोलीय अवसर बनेको छ। स्पेनका उत्तरी तथा पूर्वी क्षेत्रमा पूर्ण ग्रहण देखिने भएकाले हजारौँ मानिसले अवलोकनको तयारी गरेका छन्।

म्याड्रिड र बार्सिलोना पूर्ण ग्रहणको मुख्य मार्गमा नपरे पनि त्यहाँ सूर्यको ९९ प्रतिशतभन्दा बढी भाग ढाकिने अनुमान छ। पेरिसमा करिब ९२ प्रतिशत, लन्डनमा ९१ प्रतिशत र बर्लिनमा करिब ८५ प्रतिशत सूर्य ढाकिनेछ।

उत्तर अमेरिकाका अलास्का र क्यानडाका केही भागबाट पनि आंशिक ग्रहण देखिनेछ। क्यानडाको सेन्ट जोन्समा करिब ५३ प्रतिशत, मोन्ट्रियलमा १८ प्रतिशत र टोरोन्टोमा करिब ८ प्रतिशत सूर्य ढाकिने अनुमान गरिएको छ।

चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाश छेक्दा सूर्यग्रहण हुन्छ। यसको मुख्य चार प्रकार छन्—आंशिक, पूर्ण अर्थात् खग्रास, वलयाकार र हाइब्रिड।

पूर्ण सूर्यग्रहणमा चन्द्रमाले सूर्यको उज्यालो सतह पूरै ढाक्दा केही समयका लागि सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ देखिन्छ। सूर्य चन्द्रमाभन्दा करिब ४०० गुणा ठूलो भए पनि पृथ्वीबाट करिब ४०० गुणा टाढा भएकाले दुवैको आकाशीय आकार लगभग समान देखिनु पूर्ण ग्रहण सम्भव हुनुको रोचक कारण हो।

ग्रहणको आंशिक चरणमा नाङ्गो आँखाले सूर्य हेर्नु आँखाका लागि जोखिमपूर्ण हुन्छ। सामान्य सनग्लासले सुरक्षा नदिने भएकाले प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्ने हुन्छ।

नेपालबाट आजको ग्रहण प्रत्यक्ष देखिने छैन। नेपाली आकाशप्रेमीले भने नासा तथा अन्य विश्वसनीय खगोलीय संस्थाका अनलाइन प्रत्यक्ष प्रसारणमार्फत ग्रहणको पूर्ण चरण अवलोकन गर्न सक्नेछन्।

आजको ग्रहणपछि अर्को उल्लेखनीय पूर्ण सूर्यग्रहण २ अगस्ट २०२७ मा हुनेछ। त्यसको पूर्णताको मार्ग दक्षिणी स्पेन, उत्तर अफ्रिका, साउदी अरब र यमनसम्म फैलिनेछ।

1

Scroll to Top