Banijya News

भारतद्वारा शिक्षा, स्वास्थ्य र कृषि परियोजनाका लागि ८० करोड ३० लाख सहयोग

1
1.1K Shares

भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका आठ परियोजना सञ्चालनका लागि ८० करोड ३० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीबीच मंगलबार हस्ताक्षर भएको हो । समझदारीअन्तर्गतका परियोजना नेपाल सरकारका सम्बन्धित स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

समझदारीअनुसार कोशी प्रदेशको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन गरिनेछ । त्यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण गरिनेछ ।

यसैगरी, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ ।

उक्त आर्थिक सहयोगबाट बागमती प्रदेशको धादिङस्थित ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ ।

कर्णाली प्रदेशअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल र हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र निर्माण गर्ने योजना छ ।

त्यस्तै, गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ ।

1

Scroll to Top