सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा र व्यवसायिक आम्दानी दुवैमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वोत्तम सिमेन्टले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सर्वोत्तम सिमेन्टले अघिल्लो वर्ष १ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीले करिब ७.६८ प्रतिशतले बढी खुद नाफा कमाएको हो ।
यसैगरी, कम्पनीको बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको आम्दानी बढेर यस वर्ष १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको आम्दानी बढेपनि बिक्री र वितरण खर्च भने बढेको छ । उक्त खर्च ३३ करोड ९६ लाख रुपैयाँबाट बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । तर, वित्तीय लागत भने २९ करोड ६३ लाख रुपैयाँबाट घटेर ६५ करोड ६५ लाख रुपैयाँमा झरेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी २१.२० रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १९९.८९ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ र कम्पनीको जगेडा कोष ४ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ छ । कम्पनीको उत्पादन लागत ७ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको वित्तीय विवरणअनुसार, प्रशासनिक खर्च र वित्तीय खर्च पनि गत आवमा केही बढेको छ । कम्पनीका अनुसार विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र कच्चा पदार्थको ढुवानी लागत बढ्दा उत्पादन लागतमा दबाब परेको हो ।


