Banijya News

नेष्डो समृद्ध लघुवित्तको नाफा १३.७० करोड, ईपीएस ४७.०३ रुपैयाँ, अन्य सूचक कस्तो ?

1
1.0K Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिसम्म संस्था ८ करोड ९८ लाख घाटामा थियो । आम्दानी बढेर इम्पेयरमेन्ट चार्ज घट्दा संस्था नाफामा गएको देखिएको हो ।

गत आवमा संस्थाले २९ करोड ५३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले २८ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ६४ लाख र सञ्चालन मुनाफा २० करोड ९२ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ३४ करोड १९ लाख छुट्टाएको संस्थाले समीक्षा अवधिमा भने ५२ लाख ८६ हजारको मात्रै व्यवस्था गरेको छ ।

गत आवमा संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २ अर्ब ४३ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने २ अर्ब ५१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।

गत आवमा संस्थाले ३ अर्ब १६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।

यसैगरी, संस्थाको खराब कर्जा अनुपात २०.६६ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात २१.०६ प्रतिशत कायम थियो ।

त्यस्तै, संस्थाको वितरणयोग्य मुनाफा २० करोड १५ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ६९.१७ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४७.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २८५.०९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३१.१७ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१५.३३ रुपैयाँ र तरलता अनुपात २५.७५ प्रतिशत कायम भएको छ ।

1

Scroll to Top