माइक्रोफाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म सञ्चालनमा रहेका माइक्रोफाइनान्स कम्पनीहरूले कुल १२ अर्ब ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५१.०८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीहरूले ४ अर्ब ७८ करोड ६ लाख रुपैयाँ मात्रै नाफा गरेका थिए ।
गत आवमा सबै माइक्रोफाइनान्स कम्पनी नाफामा उक्लिएका छन् । अघिल्लो आवमा भने १३ वटा कम्पनी घाटामा रहेका थिए । ऋण असुलीमा सुधार, खुद ब्याज आम्दानी बढ्नु, कर्जा नोक्सानीबापतको प्रोभिजनिङ रकम घट्नु तथा ब्याजदर घटेसँगै कस्ट अफ फन्ड कम हुनुले कम्पनीहरूको नाफा बढाउन मुख्य योगदान गरेको देखिएको छ ।
विशेषगरी अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनीले गत आवमा नाफामा फर्किएपछि समग्र क्षेत्रकै नाफा उच्च दरले बढेको हो । पछिल्लो समय माइक्रोफाइनान्सको ऋण असुली सुस्त देखिए पनि विगतमा कर्जा नोक्सानीका लागि पर्याप्त रकम प्रोभिजनिङ गरिसकेकाले अहिले त्यसको भार घटेको विज्ञहरूको भनाइ छ ।
नाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा अगाडि रहेको छ । कम्पनीले गत आवमा १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ७.०२ प्रतिशत बढी हो ।
त्यस्तै, सबैभन्दा कम नाफा गर्नेमा विन नेपाल लघुवित्त रहेको छ । कम्पनीले ८३ लाख ४२ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । नाफा वृद्धिदरका आधारमा भने विजय लघुवित्त अगाडि रहेको छ । कम्पनीको नाफा वृद्धिदर १५ लाख ८ हजार प्रतिशत पुगेको छ ।
खुद ब्याज आम्दानीमा वृद्धि
माइक्रोफाइनान्स कम्पनीहरूको खुद ब्याज आम्दानी गत आवमा १६.१० प्रतिशतले बढेको छ । कम्पनीहरूले कुल ३६ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । अघिल्लो आवमा यस्तो आम्दानी ३१ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा ६ वटा कम्पनीको मात्रै ब्याज आम्दानी घटेको छ भने बाँकी कम्पनीको आम्दानी बढेको छ । सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा छिमेक लघुवित्त रहेको छ । कम्पनीले ३ अर्ब ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । वृद्धिदरका आधारमा भने अभियान लघुवित्त अगाडि रहेको छ, जसको ब्याज आम्दानी १५४.१४ प्रतिशतले बढेको छ ।
१९ कम्पनीको लाभांश क्षमता २५ प्रतिशतभन्दा माथि
नाफामा सुधारसँगै माइक्रोफाइनान्स कम्पनीहरूको वितरणयोग्य नाफा तथा लाभांश क्षमतामा पनि सुधार आएको छ । विवरणअनुसार १९ वटा कम्पनीको लाभांश क्षमता २५ प्रतिशतभन्दा माथि देखिएको छ ।
तर, कम्पनीहरूले वित्तीय विवरणमा देखाएको लाभांश क्षमता बराबर नै लाभांश वितरण गर्न भने पाउने छैनन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार पूँजीकोष अनुपात र खराब कर्जा अनुपातसम्बन्धी निर्धारित सीमा कायम गर्ने माइक्रोफाइनान्सले अधिकतम २५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था छ ।
अधिकांशको खराब कर्जा घट्यो
त्यसो त, गत आवको वित्तीय विवरणअनुसार अधिकांश माइक्रोफाइनान्स कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) मा सुधार आएको छ । यद्यपि ५ प्रतिशतभन्दा कम एनपीएल कायम गर्ने कम्पनीको संख्या सातवटा मात्रै छ ।
धेरै कम्पनीको एनपीएल अझै ५ प्रतिशतभन्दा माथि रहे पनि अघिल्लो आवको तुलनामा अधिकांशको खराब कर्जा घटेको छ । ऋण असुलीमा भएको सुधार र विगतमा गरिएको पर्याप्त प्रोभिजनिङका कारण कर्जा नोक्सानीको भार घट्दा माइक्रोफाइनान्स कम्पनीहरूको ब्याज आम्दानी र समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो ।


