Banijya News

चार दिनपछि नेप्से र कारोबार रकम दुवै बढ्यो

1
1.0K Shares

नेप्से परिसूचक आज विहीबार सकारात्मक भएर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से आज सात अंक बढेर बन्द भएको हो ।

नेप्से परिसूचक आज ७.१७ अंक बढेर २६२९.४० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आज छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । हिजो बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको कारोबारमा खुम्चिन पुगेको शेयर बजारमा आज ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएकामध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माउन्ट एभरेष्ट पावरको शेयरमूल्य निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर छैटौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको कुमारी धनवृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.७७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नौ वर्षे एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ । उक्त बण्डको ५० करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

1

Scroll to Top