Banijya News

ऋण असुलीमा जबर्जस्ती नगर्न गृहको निर्देशन, पीडितले प्रशासनमा उजुरी गर्न सक्ने

1
1.1K Shares

ऋण असुलीका नाममा ऋणीमाथि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमति कार्यान्वयनका लागि देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले पठाएको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार सहमति कार्यान्वयनका लागि सम्बन्धित विवरण पठाइएको उल्लेख छ । सरकार र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच गत भदौ ६ गते विभिन्न विषयमा सहमति भएको थियो ।

उक्त सहमतिअनुसार ऋण असुली गर्ने क्रममा ऋणीमाथि शारीरिक वा मानसिक यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर दबाब तथा धरपकड गर्ने, गालीबेइज्जती गर्ने वा दुर्व्यवहार गर्नेजस्ता गतिविधि गैरकानुनी हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

यस्ता कार्यबाट पीडित बनेका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । उजुरी प्राप्त भएपछि प्रचलित कानूनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पनि गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सहमति तथा मन्त्रिपरिषद्को निर्णयअनुसार आवश्यक कार्यान्वयन र सम्बन्धित निकायसँग समन्वय गर्नसमेत आग्रह गरेको छ ।

ऋण असुलीका क्रममा कानुनी प्रक्रिया मिचेर दबाब, धम्की वा दुर्व्यवहार गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारको पछिल्लो निर्देशन आएको हो । यसले ऋणीको अधिकार संरक्षणसँगै ऋण असुली प्रक्रियालाई कानुनी दायराभित्र राख्न जोड दिएको छ ।

1

Scroll to Top