काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायातलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आठ वटा नगरपालिकालाई जोड्ने गरी ‘अन्तरनगर यातायात सञ्जाल’ विस्तार गरिने भएको छ । काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा सञ्चालन गरिएको परीक्षणकालीन रात्रि बस सेवा प्रभावकारी देखिएपछि सेवा विस्तारको तयारी अघि बढाइएको हो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सक्रिय सहभागितामा रात्रिकालीन सार्वजनिक यातायातको दिगो प्रणाली स्थापना गर्न लागिएको बताएकी छन् । महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन कार्यदलले हाल सञ्चालनमा रहेका ७ वटा बसको संख्या बढाएर २८ पुर्याउन सिफारिस गरेको छ ।
कार्यदलको प्रस्तावअनुसार उपत्यकाका प्रमुख प्रवेशद्वार, व्यापारिक केन्द्र, अस्पताल, विमानस्थल तथा पर्यटकीय क्षेत्रलाई जोड्ने गरी रात्रिकालीन बसका रुट विस्तार गरिनेछ । हाल नागढुंगा/थानकोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र लगनखेल–बूढानीलकण्ठ गरी दुई रुटमा सेवा सञ्चालन भइरहेको छ ।
प्रस्तावित नयाँ रुटमा गोदावरी–बूढानीलकण्ठ, जगाती–ठमेल, कीर्तिपुर–रत्नपार्क तथा चक्रपथमा दुवैतर्फ निरन्तर बस सेवा सञ्चालन गर्ने योजना छ । गोदावरीबाट हरिसिद्धि, सातदोबाटो, पाटन, थापाथली, रत्नपार्क, लैनचौर र महाराजगञ्ज हुँदै बूढानीलकण्ठ जोडिनेछ । त्यस्तै, जगातीबाट सूर्यविनायक, मध्यपुर थिमि, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर र जमल हुँदै ठमेलसम्म सेवा विस्तार गर्ने प्रस्ताव छ ।
कीर्तिपुर–रत्नपार्क रुटले कीर्तिपुर, नयाँ बजार, बल्खु, कालिमाटी, त्रिपुरेश्वर हुँदै न्यूरोड तथा रत्नपार्क क्षेत्रलाई जोड्नेछ । चक्रपथमा भने कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, सीतापाइला, बालाजु, सामाखुसी, महाराजगञ्ज, चाबहिल र गौशाला हुँदै दुवैतर्फ सेवा सञ्चालन गर्ने योजना छ ।
नयाँ सञ्जालमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिका सहभागी हुनेछन् ।
परीक्षणकालीन सेवा सुरु भएको तीन महिनामा ६६ हजार ९५२ यात्रुले रात्रिकालीन बस सेवा प्रयोग गरेका छन् । अध्ययनअनुसार राति ८ देखि ९ बजेसम्म यात्रुको चाप सबैभन्दा बढी अर्थात् ४१.५६ प्रतिशत रहने गरेको छ । यस समयमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारीमा काम गर्ने यात्रुको संख्या उल्लेख्य रहेको पाइएको छ ।
रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक तथा पर्यटकको सुरक्षालाई प्राथमिकता दिइनेछ । यसका लागि बसमा सीसीटीभी क्यामरा र जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्नुका साथै निश्चित ‘डेडिकेटेड’ बस स्टप निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
सेवा सञ्चालनमा हुने घाटा व्यवस्थापनका लागि ८ वटै नगरपालिकाले ५० प्रतिशत रकम समान रूपमा र बाँकी ५० प्रतिशत भूगोल तथा जनघनत्वका आधारमा बेहोर्ने मोडल प्रस्ताव गरिएको छ । दीर्घकालीन रूपमा रात्रिकालीन सार्वजनिक यातायातलाई व्यवस्थित र नियमन गर्न ‘सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’मार्फत व्यवस्थापन गर्नुपर्ने सुझावसमेत कार्यदलले दिएको छ ।


