पछिल्ला दिनहरुमा उत्तरी छिमेकी चीनसँग आयात गर्ने मुख्य व्यापारिक कोरला नाकामा चाप बढ्न थालेको छ । बाढी र पहिरोका कारण प्रमुख दुई व्यापारित नाकाहरु रसुवागढी र तातोपानी बन्द भएपछि मुस्ताङको कोरला नाकामा व्यापारिक चाप ह्वात्तै बढेको हो ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढी भन्सार ध्वस्त भएको छ । बाढीले मितेरी पुलसहित सडक, पुल, भन्सार कार्यालय र टिमुरे सुक्खा बन्दरगाहका संरचनामा ठूलो क्षति पुर्याएपछि नाकाको भविष्य नै अनिश्चित बनेको छ । साथै, पहिरोको जोखिमले तातोपानी नाका पनि बन्द भएपछि व्यवसायीहरूले विकल्पमा कोरला नाका प्रयोग गर्न थालेका छन् ।
आगामी दशैँ र तिहारलाई लक्षित गरी सामान ल्याउन अहिले दैनिक औसत ५० भन्दा बढी रित्ता कन्टेनरहरू मुस्ताङ भइ कोरलातर्फ गइरहेका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार रसुवागढी नाका ठप्प भएपछि व्यवसायीहरू कोरला नाकातर्फ लागेका हुन् ।
कामको चाप बढेपछि भन्सार विभागले ३ अधिकृत र ३ नायब सुब्बा गरी ६ जना थप कर्मचारी काजमा खटाएको छ । यस्तै, फलफूल तथा खाद्यान्नको जाँचपासका लागि प्लान्ट क्वारेन्टाइनका कर्मचारीहरू पनि मुस्ताङ पुगिसकेका छन् । हाल १८ जनाको दरबन्दी रहेको मुस्ताङ भन्सारमा अब कर्मचारीको संख्या १८ पुगेको छ ।
गत आर्थिक वर्षमा करिब ७ अर्ब राजस्व संकलन गरेको कोरला नाकाबाट ३ हजारभन्दा बढी विद्युतीय सवारी साधन(इभी) भित्रिएका थिए । चालू आर्थिक वर्षको साउन महिनामा मात्रै यस नाकाबाट २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । २०८२ भदौदेखि वैकल्पिक नाकाका रूपमा सञ्चालनमा आएको कोरला अहिले चीनसँगको व्यापारका लागि मुलुकको प्रमुख लाइफलाइन बनेको छ ।
ऐतिहासिक रूपमा नेपाल–तिब्बत व्यापारको प्रमुख मार्ग रहेको रसुवागढी २०७५ सालमा अन्तर्राष्ट्रिय नाकाका रूपमा मान्यता पाएपछि नेपाल–चीन व्यापारको मुख्य आधार बनेको थियो । रसुवागढी नाकाबाट हुने कारोबार पछिल्ला वर्षमा निकै ठूलो थियो । गत आर्थिक वर्ष २०८२/८३ मा करिब रु. ४५ अर्ब ७३ करोड ८२ लाख बराबरको वस्तु आयात भएको थियो । निर्यात भने करिब रु. ८९ करोड ४६ लाख थियो ।
तर, २०८२ असारमा आएको बाढीका कारण नाका करिब ६ महिना बन्द भएको थियो । नाका पुनः सञ्चालन भएको करिब ६ महिनामै रु. ४५ अर्ब ७३ करोडभन्दा बढीको आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रसुवागढीबाट रु. ८५ अर्ब २३ करोड आयात र रु. २ अर्ब ४ करोड निर्यात भएको थियो । अर्थात् यस नाकाबाट करिब रु. ८७ अर्ब २७ करोडको आयात–निर्यात भएको थियो । यही अवधिमा रसुवागढी नाकाले नेपालको कुल वस्तु आयातको करिब ४.७२ प्रतिशत हिस्सा ओगटेको थियो । त्यसैले, बाढीअघि सामान्य अवस्थामा रसुवागढी नाकाबाट वार्षिक करिब ८५–९० अर्ब रुपैयाँको कारोबार हुने प्रमुख नेपाल–चीन व्यापारिक नाका थियो ।
तर, पछिल्लो बाढीले सडकका दर्जनौँ पुल तथा करिब ४० किलोमिटर सडकमा क्षति पुर्याएपछि पुनः सञ्चालन चुनौतीपूर्ण बनेको छ । टिमुरे सुक्खा बन्दरगाहमा करिब ३ अर्ब रुपैयाँ लगानी भएकोमा २ अर्ब रुपैयाँ खर्च भइसकेको थियो । बाढीले अधिकांश संरचना बगाएपछि राज्य र निजी क्षेत्रको अर्बौं रुपैयाँको लगानी जोखिममा परेको छ । भन्सार विभागका अनुसार, रसुवागढी भन्सारमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन छन् ।
सरकारले गर्ने निर्णयका आधारमा रसुवागढी नाकाको आगामी स्वरूप र सञ्चालनबारे टुंगो लाग्ने विभागले जनाएको छ । पछिल्लो विनाशकारी बाढीपछि नाका पुनर्निर्माण र सञ्चालनका लागि ठूलो लगानी तथा दीर्घकालीन रणनीतिक निर्णय आवश्यक देखिएको छ ।

