निशान पोलिक्लिनिक प्रा. लि. ले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ लाख सहयोग गरेको छ। निशान पोलिक्लिनिकका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। यो सहयोग विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जारी प्रयासमा संस्थाको योगदानस्वरूप प्रदान गरिएको हो । सहयोग निशान पोलिक्लिनिकका चिकित्सक, कर्मचारी तथा व्यवस्थापनको सामूहिक प्रयासबाट जुटाइएको हो । सहयोग गर्नेहरूमध्ये संस्थासँग आबद्ध वरिष्ठ चिकित्सकहरू वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी र वरिष्ठ छाला रोग विशेषज्ञ डा. अनिल कुमार दास पनि रहेका छन् । उहाँहरूले राहत प्रयासका लागि उल्लेखनीय व्यक्तिगत योगदान गर्नुभएको छ ।
निशान पोलिक्लिनिकले सुरुमा आफ्ना कर्मचारीहरूका लागि तीज कार्यक्रम तथा उपहारका लागि बजेट छुट्याएको थियो । तर रसुवामा बाढीबाट उत्पन्न विनाशकारी अवस्थालाई देखेपछि कर्मचारीहरूले सामूहिक रूपमा व्यवस्थापनसमक्ष पुगेर निर्धारित तीज कार्यक्रम र उपहार रद्द गरी त्यसका लागि छुट्याइएको रकम विपद् राहतमा सहयोग गर्ने प्रस्ताव राखे । उक्त प्रस्तावलाई चिकित्सक तथा व्यवस्थापनले समेत समर्थन गरे । यसरी आन्तरिक उत्सवका लागि छुट्याइएको रकमलाई सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको हो । निर्णयमा संस्थाका विभिन्न तहका सदस्यहरूको सहभागिता रह्यो । कर्मचारी, चिकित्सक तथा व्यवस्थापनले आ-आफ्नो तर्फबाट योगदान गर्दै यो सहयोग रकम जुटाएका हुन् ।

