समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको पूर्ण सम्मान गर्न सामाजिक संघ–संस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
परिषद्का अनुसार, भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा नागरिक प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत वितरण तथा मानवीय सहयोगका गतिविधि सञ्चालन भइरहेका छन् ।
परिषद्ले राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । विशेषगरी पीडितको अनुमति नलिई उनीहरूको फोटो तथा भिडियो खिच्ने, प्रकाशन गर्ने वा प्रसारण गर्ने कार्य नगर्न परिषद्ले अनुरोध गरेको हो ।
त्यस्तै, पीडितको अनुमति बिना व्यक्तिगत फोटो तथा भिडियो प्रयोग गर्नुका साथै धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत तथा प्रचारात्मक सामग्री राखेर सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि परिषद्ले सबै पक्षलाई सचेत गराएको छ ।
विपद्को समयमा मानवीय सहयोगका नाममा पीडितको थप पीडा नबढोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको परिषद्ले जनाएको छ । परिषद्ले राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी आवश्यक सूचना आफ्नो वेबसाइटमार्फत समेत सार्वजनिक गरिरहेको जनाएको छ ।


