साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.०७ अंक बढेर २५६०.८४ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ ।
१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार भएकामध्ये पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ९९ रुपैयाँ ३० पैसा बढेर ७६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने श्रीनगर एग्रीटेक, कालिका लघुवित्त वित्तीय संस्था र सागर डिष्टिलरीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ ।


