Banijya News

भोटेकोशी बाढीपछि राहत कोषमा निजी क्षेत्रको बलियो साथ, १२ अर्ब नजिकियो मौज्दात

1
1.1K Shares

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको आह्वानमा निजी क्षेत्रसहित विभिन्न संस्था र व्यक्तिबाट उल्लेख्य आर्थिक सहयोग जुटेको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता पूरा गर्न र आगामी पुनर्निर्माणका लागि स्रोत जुटाउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग आउने क्रम बढेको हो।

अर्थ मन्त्रालयका अनुसार भदौ २३ गतेसम्म कोषमा ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात पुगेको छ। बाढी आउनुअघि कोषमा २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दात थियो। बाढीपछि विभिन्न स्रोतबाट रकम थपिएसँगै कोषको आकार उल्लेख्य रूपमा बढेको हो। सरकारले यसमध्ये १ अर्ब रुपैयाँ निकासा गरी विपद् प्रभावित क्षेत्रको उद्धार तथा राहतमा परिचालन गरिसकेको छ।

कोषमा सरकारी निकाय, निजी कम्पनी, बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था, व्यक्तिगत दाता र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सहयोग आएको छ। बाढीपछिको राहत अभियानमा निजी क्षेत्रको सहभागिता विशेष उल्लेखनीय देखिएको छ। घरेलु स्रोतबाट संकलित रकममध्ये करिब २० प्रतिशत योगदान निजी क्षेत्रको रहेको अर्थ मन्त्रालयको विवरणले देखाएको छ।

निजी क्षेत्रबाट सबैभन्दा ठूलो व्यक्तिगत संस्थागत योगदान सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ दिएको छ। त्यसपछि नेपाल बीमा प्राधिकरण र गोर्खा ब्रुअरीले १०–१० करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ७ करोड रुपैयाँ कोषमा उपलब्ध गराएको छ।

बैंकिङ क्षेत्र पनि राहत अभियानमा अगाडि देखिएको छ। विभिन्न वाणिज्य बैंक, नेपाल पूर्वाधार बैंक तथा राष्ट्रियस्तरका विकास बैंकबाट मात्र ५३ करोड ५९ लाख ११ हजार रुपैयाँ बराबरको योगदान भएको छ। यसमा केही बैंकले नगदसँगै राहत तथा उद्धार सामग्रीसमेत उपलब्ध गराएका छन्।

वाणिज्य बैंकतर्फ ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख, एनएमबी बैंकले ३ करोड ५१ लाख, लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख तथा नेपाल बैंकले ३ करोड १० लाख रुपैयाँ प्रदान गरेका छन्। हिमालयन बैंक र प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख रुपैयाँका दरले सहयोग गरेका छन्।

कृषि विकास बैंकले ३ करोड, कुमारी बैंकले ३ करोड नगदसहित ३९ लाख रुपैयाँ बराबरको राहत तथा उद्धार सामग्री दिएको छ। सिद्धार्थ बैंकले २ करोड ५१ लाख, सानिमा बैंकले २ करोड २५ लाख, एनआईसी एशियाले २ करोड २१ लाख, प्रभु बैंकले २ करोड ११ लाख ११ हजार र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। नेपाल पूर्वाधार बैंकले २ करोड ५० लाख तथा नेपाल एसबीआई बैंकले २५ लाख रुपैयाँ दिएको छ।

एभरेस्ट बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गर्नुका साथै कर्मचारीबाट थप ६० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। नबिल बैंकले भने चौधरी फाउन्डेसनसँगको सहकार्यमा रसुवा र नुवाकोटका प्रभावित समुदायका लागि १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेको छ। यो रकम कोषमा नगद जम्मा भएको रकमभन्दा फरक प्रकृतिको राहत तथा पुनःस्थापना प्रतिबद्धता हो।

राष्ट्रियस्तरका विकास बैंकहरूले पनि आफ्नो क्षमता अनुसार योगदान गरेका छन्। सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेर विकास बैंकतर्फ सबैभन्दा ठूलो योगदान गरेको छ। शाइन रेसुङ्गाले ६५ लाख र महालक्ष्मी विकास बैंकले ५१ लाख रुपैयाँ उपलब्ध गराएका छन्।

ज्योति विकास बैंकले ५० लाख रुपैयाँ नगद सहयोगसँगै थप ५० लाख रुपैयाँ स्थानीय तहमा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न खर्च गर्ने घोषणा गरेको छ। यसअनुसार बैंकको कुल प्रतिबद्धता १ करोड रुपैयाँ पुगेको छ। मुक्तिनाथ विकास बैंकले ५० लाख तथा कामना सेवा र लुम्बिनी विकास बैंकले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन्।

बैंक तथा वित्तीय संस्थाबाहेक बीमा कम्पनीहरूले करिब २६ करोड रुपैयाँ, सामाजिक संस्था तथा क्लब–फाउन्डेसनहरूले करिब ११ करोड रुपैयाँ र अस्पताल, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले करिब ५ करोड रुपैयाँ योगदान गरेको मन्त्रालयले जनाएको छ। उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ।

व्यक्तिगत दाताबाट पनि ठूलो रकम आएको छ। मन्त्रालयको विवरणअनुसार राजी राणाले १ करोड ९ लाख, मंगला अमात्यले १ करोड ८ लाख र विजयकुमार साहले १ करोड रुपैयाँ सहयोग गरेका छन्। राजनीतिक दलहरूले समेत कोषमा रकम उपलब्ध गराएका छन्। नेपाली कांग्रेसले मात्रै पछिल्लो चरणमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

अन्तर्राष्ट्रिय सहयोगतर्फ विश्वप्रसिद्ध एआई चिप निर्माता कम्पनी एनभिडियाले १ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग गरेको विवरण छ। यसले विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय निजी क्षेत्रको चासोसमेत देखाएको छ।

विपद्पछिको आर्थिक सहयोग अब तत्काल राहत वितरणमा मात्र सीमित नराखी क्षतिग्रस्त घर, सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधार पुनर्निर्माणमा समेत केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ। यही कारण सरकारले क्षतिको यथार्थ मूल्याङ्कन गरेर उपलब्ध स्रोतलाई प्राथमिकताका आधारमा परिचालन गर्ने तयारी गरिरहेको छ।

रसुवाको भोटेकोशी बाढीले पुर्‍याएको क्षति एक जिल्लामा मात्र सीमित नरहेकाले पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिन्छ। सरकारी कोषमा निजी क्षेत्र, वित्तीय संस्था, अन्तर्राष्ट्रिय कम्पनी र सर्वसाधारणबाट जुटेको सहयोगले तत्कालीन राहतमा टेवा पुर्‍याए पनि दीर्घकालीन पुनर्निर्माणका लागि पारदर्शी खर्च प्रणाली, क्षतिको वैज्ञानिक मूल्याङ्कन र प्रभावित समुदायको प्रत्यक्ष सहभागिता आवश्यक हुनेछ।

1

Scroll to Top