नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ५६ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २६ गते हुने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ र सोही क्रमअनुसार आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ ।

