जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट प्रत्यक्ष रूपमा गर्दै आएको खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
कार्यालयले सोमबारदेखि नियमित प्रशासनिक कामसँगै रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवको व्यवस्थापनमा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले ग्यास बिक्री रोक्ने निर्णय गरेको हो ।
काठमाडौंमा ग्यास अभाव भएपछि कार्यालयले डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, गर्भवती तथा साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै पछिल्ला तीन दिनदेखि ग्यास विक्रेतामार्फत कार्यालय परिसरबाटै प्रत्यक्ष बिक्री–वितरणको व्यवस्था गरेको थियो ।
तर, कार्यालयका नियमित कामसँगै विपद् व्यवस्थापनमा थप जनशक्ति आवश्यक परेपछि उक्त व्यवस्था तत्कालका लागि स्थगित गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले भने ग्यासको बिक्री–वितरण पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारेको छ । सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यासको बिक्री–वितरण नियमित रूपमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
कार्यालयका प्रशासनिक अधिकृत तारानाथ फुँयालद्वारा जारी सूचनामा कार्यालय परिसरबाट हुने प्रत्यक्ष बिक्री अर्को सूचना नभएसम्म नहुने उल्लेख छ । साथै, ग्यास बिक्री–वितरणसम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराइएको कार्यालयले जनाएको छ ।


