रसुवागढी उत्तरी सीमा नाका जोड्ने कोरिडोरमा गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार, बाढीबाट उत्पादनशील क्षेत्रमा प्रत्यक्ष रूपमा ३४ अर्ब २८ करोड ५३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
व्यवसाय तथा आर्थिक गतिविधि ठप्प हुँदा थप १ खर्ब १६ अर्ब ८९ लाख रुपैयाँको आर्थिक नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । यससँगै बाढीको कुल आर्थिक धक्का १ खर्ब ५० अर्ब ३६ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
बाढी प्रभावित कोरिडोर क्षेत्रमा करिब ४ हजार ८ सय व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् । सबैभन्दा बढी १ हजार २५९ वटा होटेल तथा रेस्टुरेन्ट र १ हजार २१२ वटा थोक तथा खुद्रा व्यापार व्यवसाय प्रभावित भएका छन् ।
यातायातका साधन, होटेल तथा अन्य व्यावसायिक पूर्वाधारमा व्यापक भौतिक क्षति पुगेको छ भने सीमा व्यापार र ढुवानी अवरुद्ध हुँदा अर्बौं रुपैयाँको कारोबार गुमेको छ । प्रभावित क्षेत्रको व्यापार, पर्यटन र अन्य उत्पादनशील गतिविधि पुनः सञ्चालनमा ल्याउन ४५ अर्ब ४५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।


