Banijya News

भोटेकोशी बाढीको आर्थिक धक्का चार खर्ब ८२ अर्बभन्दा बढी

1
1.1K Shares

रसुवाको माथिल्लो ल्हेन्दे खोला जलाधार क्षेत्रमा खसेको भीषण चट्टान र हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदीको कोरिडोरमा आएको बाढीले मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको छ । गत भदौ १० गते आएको बाढीबाट ४ खर्ब ८२ अर्ब ८० करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक क्षति तथा आर्थिक नोक्सानी भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालयसँगको समन्वयमा तयार पारेको क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट भएको क्षति नेपालको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँको ६.६९ प्रतिशत बराबर हो ।

बाढीपछिको पुनरुत्थान, पुनर्स्थापना र पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो रकम नेपालको वार्षिक जीडीपीको ११.८४ प्रतिशत बराबर हुन्छ । यसले बाढीको प्रभाव तत्कालीन क्षतिमा मात्र सीमित नभई आगामी वर्षहरूमा समेत राज्यको वित्तीय स्रोतमा ठूलो दबाब पर्ने संकेत गरेको छ ।

मानवीय क्षति र विस्थापन

बाढीबाट मानवीय क्षति पनि अत्यन्त ठूलो भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म १ हजार ३७७ जनाको शव तथा मानव अवशेष फेला परेको छ भने ५ हजार १३० जना अझै बेपत्ता सूचीमा छन् । बेपत्ताको खोजी तथा फेला परेका शवको पहिचान गर्ने काम जारी छ ।

सुरक्षा निकायको सक्रियतामा १३ हजार ६७६ जनाको जीवित उद्धार गरिएको छ । बाढीमा घाइते भएका ३३७ जनाले विभिन्न १९ अस्पतालमा उपचार पाएका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमै ७ हजारभन्दा बढी नागरिकलाई प्राथमिक उपचार सेवा उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

बाढीबाट १५ स्थानीय तहमा ७ हजार ५७० निजी आवास क्षतिग्रस्त भएका छन् । यसबाट ८ हजार ३१७ घरधुरीका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन् । क्षतिग्रस्त घरमध्ये सबैभन्दा धेरै नुवाकोटको विदुर नगरपालिकामा छन् । विदुरमा मात्रै ३ हजार २६ घर क्षतिग्रस्त भएका छन् ।

त्यस्तै, रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० घरमा क्षति पुगेको छ । आवास गुमाएका ३ हजार ६८५ जना रसुवा, नुवाकोट र धादिङका ३७ वटा अस्थायी शिविरमा बसिरहेका छन् । ठूलो संख्यामा विस्थापित परिवार आफन्त तथा छिमेकीको आश्रयमा रहेका छन् ।

निजी आवास र घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । सुरक्षित पुनर्निर्माण र अस्थायी आवास व्यवस्थापनका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

जलविद्युत् र ऊर्जा क्षेत्रमा ठूलो असर

बाढीको सबैभन्दा ठूलो असर पूर्वाधार क्षेत्रमा परेको छ । पूर्वाधार क्षेत्रमा मात्रै १९ अर्ब ४ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति तथा सेवा प्रवाहमा नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रको पुनर्निर्माणका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यो कुल पुनर्निर्माण आवश्यकताको ६५.४७ प्रतिशत हो ।

बाढीबाट कोरिडोरमा रहेका ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये २५०.४ मेगावाट क्षमताका सात आयोजना सञ्चालनमा रहेका थिए भने ५०८.६ मेगावाट क्षमताका छ आयोजना निर्माणाधीन थिए ।

त्यसैगरी, २४.३६ मेगावाट क्षमताका पाँच सोलार प्लान्ट तथा ट्रान्समिसन लाइनमा समेत क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा भौतिक क्षति १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने विद्युत् उत्पादन अवरुद्ध हुँदा थप १६ अर्ब ३४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि मात्रै ३९ अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।

चीन जोड्ने व्यापारिक मार्ग ध्वस्त

बाढीले नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा समेत ठूलो क्षति पुर्‍याएको छ । रणनीतिक व्यापारिक मार्गको ६९ किलोमिटर सडकमा क्षति पुगेको छ । त्यसमध्ये ५५ किलोमिटर लामो बेत्रावती–रसुवागढी खण्ड पूर्ण रूपमा बगेको छ ।

सडक पूर्वाधारमा मात्रै २ हजार २०७ करोड रुपैयाँको क्षति भएको छ भने यातायात अवरुद्ध हुँदा थप १३५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । सडक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउन ५५ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो सडकखण्ड चीनसँगको व्यापार तथा उत्तरी सीमा नाकाबाट हुने आयात–निर्यातका लागि महत्वपूर्ण भएकाले यसको क्षतिले स्थानीय अर्थतन्त्रसँगै मुलुकको आपूर्ति प्रणालीमा समेत असर पुर्‍याएको छ ।

पुल र खानेपानीमा पनि व्यापक क्षति

बाढीले खानेपानी तथा सिँचाइ पूर्वाधारलाई समेत ठूलो क्षति पुर्‍याएको छ । खानेपानीका ९८ वटा इन्टेक, १६० वटा रिजर्भ्वायर ट्यांकी र ४४३ किलोमिटर पाइपलाइन बगाउँदा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, २५ वटा सिँचाइ आयोजना, करिब पाँच किलोमिटर तटबन्ध र छ वटा जलमापन केन्द्रमा क्षति पुगेको छ । यी संरचनामा १६४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको र पुनर्निर्माणका लागि ४९४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

चार जिल्लामा रहेका ३७ पक्की मोटरेबल पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् । ती पुलको कुल लम्बाइ २ हजार ७९२ मिटर रहेको छ । चारवटा पुलमा आंशिक क्षति पुगेको छ । नुवाकोटमा १४ र रसुवामा १३ वटा पक्की पुल बगेका छन् । यसबाहेक ६८ वटा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएका छन् । पुल पुनर्निर्माणका लागि मात्रै १८ अर्ब १६ करोड १७ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ ।

जलवायु परिवर्तनको गम्भीर संकेत

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धरमराज उप्रेतीले भोटेकोशी बाढीलाई सामान्य बाढीका रूपमा मात्र लिन नहुने बताएका छन् । उनका अनुसार यो जलवायु परिवर्तनसँग जोडिएको हिमाली विपद् हो ।

विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशत मात्रै भए पनि जलवायु परिवर्तनका कारण उत्पन्न हुने अस्वाभाविक र विनाशकारी विपद्को ठूलो मूल्य नेपालले चुकाइरहेको उनको भनाइ छ ।

बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको आकारले नेपालका लागि विपद् व्यवस्थापन, पूर्वाधार निर्माण र जलवायु अनुकूलन नीति थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ । तत्काल उद्धार र राहतपछि क्षतिग्रस्त सडक, पुल, ऊर्जा, आवास तथा व्यापारिक संरचनाको पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने दीर्घकालीन योजना बनाउनुपर्ने देखिएको छ ।

1

Scroll to Top