नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था विस्तार गर्दै जलवायु परिवर्तन र प्रविधिजन्य जोखिमका लागि छुट्टै प्रावधान लागू गरेको छ। वित्तीय क्षेत्रमा नयाँ किसिमका जोखिम बढ्दै गएको सन्दर्भमा राष्ट्र बैंकले जोखिम व्यवस्थापन मार्गदर्शन अद्यावधिक गर्दै बैंक तथा वित्तीय संस्थालाई थप जिम्मेवार बनाएको हो।
भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले चरम मौसमी घटनाबाट वित्तीय संस्था, तिनका भौतिक पूर्वाधार र सञ्चालनमा पर्न सक्ने जोखिमलाई समेत उजागर गरेको छ। यस्ता घटनाबाट वित्तीय क्षेत्रमा सम्भावित क्षति न्यूनीकरण गर्न राष्ट्र बैंकले जोखिम व्यवस्थापनको दायरा फराकिलो बनाएको हो।
राष्ट्र बैंकले जारी गरेको अद्यावधिक जोखिम व्यवस्थापन मार्गदर्शनले २०७५ मा जारी व्यवस्था प्रतिस्थापन गरेको छ। यसअघि कर्जा, तरलता, सञ्चालन, बजार र ब्याजदर जोखिम गरी पाँच परम्परागत जोखिमलाई प्राथमिकतामा राखिएको थियो। नयाँ व्यवस्थाले ती जोखिमसँगै जलवायु परिवर्तन र प्रविधिजन्य जोखिमलाई समेत समेटेको छ।
राष्ट्र बैंकका अनुसार नयाँ मार्गदर्शनको उद्देश्य वित्तीय संस्थामा बलियो जोखिम व्यवस्थापन संस्कृति विकास गर्नु, न्यूनतम नियामकीय मापदण्ड निर्धारण गर्नु तथा नयाँ किसिमका चुनौती सामना गर्न संस्थालाई सक्षम बनाउनु हो।
जलवायु जोखिमका लागि छुट्टै समिति
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनबाट आफ्नो कर्जा, बजार तथा सञ्चालन पोर्टफोलियोमा पर्न सक्ने प्रभावको मूल्यांकन गर्नुपर्नेछ। यसका लागि संस्थाले जलवायु जोखिम समिति गठन गर्नुपर्ने व्यवस्था गरिएको छ।
उक्त समितिले कम्तीमा प्रत्येक त्रैमासमा एकपटक बैठक बसी जलवायुजन्य जोखिमको निगरानी तथा व्यवस्थापनसम्बन्धी काम गर्नुपर्नेछ। संस्थाले आफ्नो जोखिम वहन क्षमताभन्दा जलवायुजन्य जोखिमभार नबढ्ने सुनिश्चित गर्नुपर्नेछ।
मार्गदर्शनले जलवायु जोखिम व्यवस्थापनको जिम्मेवारी ‘थ्री लाइन्स अफ डिफेन्स’ अर्थात् तीन तहको प्रतिरक्षा प्रणालीअनुसार स्पष्ट रूपमा बाँडफाँट गर्न भनेको छ। कर्जा मूल्यांकन गर्दा सन् २०२२ मा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) मार्गदर्शन पालना गर्नुपर्नेछ।
बाढी, पहिरो तथा अन्य चरम मौसमी घटनाबाट भौतिक पूर्वाधार सुरक्षित राख्न र दीर्घकालीन सञ्चालन क्षति घटाउन ऊर्जा–दक्ष तथा उत्थानशील सम्पत्तिमा लगानी गर्न पनि राष्ट्र बैंकले प्रोत्साहित गरेको छ।
साइबर सुरक्षामा पनि विशेष ध्यान
राष्ट्र बैंकले प्रविधिजन्य जोखिम व्यवस्थापनलाई समेत नयाँ मार्गदर्शनमा प्राथमिकता दिएको छ। साइबर आक्रमण, प्रणालीमा समस्या, तथ्यांक चुहावट तथा डिजिटल ठगीबाट उत्पन्न जोखिमलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले आवश्यक नीति तथा संरचना बनाउनुपर्नेछ।
सञ्चालक समितिले प्रविधिजन्य जोखिम व्यवस्थापनको निगरानी गर्नुपर्नेछ। साथै साइबर सुरक्षाका लागि पर्याप्त स्रोतसाधन र बजेटको व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ।
संस्थाले आईएसओ/आईईसी २७००१ लगायत मान्यताप्राप्त अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र सम्बन्धित बासेल मार्गदर्शन पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। आफ्नो प्रविधि रणनीतिलाई समग्र सञ्चालन–उत्थानशीलता योजनासँग आबद्ध गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
यसअन्तर्गत पहुँच नियन्त्रण, तथ्यांक सुरक्षा, साइबर घटनाको प्रतिक्रिया तथा तेस्रो पक्षका सेवा प्रदायकसँग सम्बन्धित जोखिम समेटिएका नीति अवलम्बन गर्नुपर्नेछ।
राष्ट्र बैंकले कर्मचारी तथा सरोकारवालालाई जलवायु र प्रविधिजन्य जोखिमबारे नियमित सचेतना कार्यक्रम सञ्चालन गर्न जोड दिएको छ। नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई बदलिँदो वित्तीय, वातावरणीय र प्रविधिगत चुनौती सामना गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।


