Banijya News

साउदी तेल पाइपलाइन बन्द, विश्व बजारमा आपूर्ति संकट गहिरिने जोखिम

1
1.0K Shares

अमेरिका र इरानबीच लामो समयदेखि जारी युद्धको असरले दबाबमा रहेको विश्व तेल बजारमा साउदी अरबको महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन बन्द भएपछि थप जोखिम बढेको छ। इराकबाट भएको ड्रोन आक्रमणमा मानवीय क्षति हुनुका साथै पाइपलाइनमा क्षति पुगेपछि साउदी अरबले शुक्रबार यसको सञ्चालन रोकेको हो।

आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इराकमा सक्रिय इरानसमर्थित समूहको संलग्नताप्रति आशंका व्यक्त गरेका छन्। इरानले भने उक्त आरोप अस्वीकार गरेको छ।

पूर्व–पश्चिम पाइपलाइनले फारसको खाडीबाट साउदी अरबको कच्चा तेललाई लाल सागरस्थित यान्बु बन्दरगाहसम्म पुर्‍याउँदै आएको छ। होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा साउदी अरबका लागि तेल निर्यातको वैकल्पिक मार्गका रूपमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो।

क्यापिटल इकोनोमिक्सका अनुसार पाइपलाइन लामो समय बन्द रहे विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशतसम्म प्रभावित हुन सक्छ। पाइपलाइनमा भएको क्षतिको पूर्ण विवरण सार्वजनिक नभएकाले पुनः सञ्चालनको समय निश्चित छैन। तर अवरोध केही सातासम्म लम्बिन सक्ने अनुमान गरिएको छ।

यसअघि लाल सागर क्षेत्रमा इरानसमर्थित हुथी विद्रोहीको गतिविधि बढेपछि तेल ढुवानीका अन्य वैकल्पिक मार्ग पनि जोखिममा परेका छन्। मोखा बन्दरगाह र पेरिम द्वीपमा नियन्त्रण बढेपछि बाब अल–मन्देब जलडमरूमध्यको सुरक्षालाई लिएर चिन्ता बढेको छ। यही मार्ग पछिल्ला महिनामा होर्मुजको वैकल्पिक समुद्री बाटोका रूपमा प्रयोग हुँदै आएको थियो।

पाइपलाइन बन्द भएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल १०८ अमेरिकी डलर पुगेको थियो भने डब्ल्यूटीआई पनि बढेर १०३ डलर आसपास पुगेको थियो।

इनर्जी एस्पेक्ट्सका अनुसार युद्ध अवधिमा पूर्व–पश्चिम पाइपलाइनबाट दैनिक औसत करिब ६० लाख ब्यारेल कच्चा तेल प्रवाह हुँदै आएको थियो। यसको अधिकतम क्षमता दैनिक ७० लाख ब्यारेल रहेको बताइएको छ। पाइपलाइनले निर्यातका लागि कच्चा तेल आपूर्ति गर्नुका साथै साउदी अरबको पश्चिमी क्षेत्रमा रहेका प्रशोधन केन्द्रलाई समेत कच्चा तेल उपलब्ध गराउँदै आएको छ।

पाइपलाइन लामो समय बन्द रहे प्रशोधित पेट्रोलियम पदार्थको आपूर्तिमा पनि असर पर्न सक्ने चिन्ता छ। विशेषगरी डिजेल बजारमा यसको प्रभाव देखिन सक्ने विश्लेषकहरूले बताएका छन्।

अमेरिकामा समेत डिजेलको मूल्य बढ्ने जोखिम देखिएको छ। अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार गत साता अमेरिकी बजारमा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको थियो। पूर्व–पश्चिम पाइपलाइन लामो समय बन्द रहे मूल्य ६.५० डलरभन्दा माथि पुग्न सक्ने विश्लेषण सार्वजनिक भएको छ।

यान्बुमा हाल करिब १ करोड ५० लाख ब्यारेल कच्चा तेल भण्डार रहेको अनुमान छ। सामान्य खपतका आधारमा यो भण्डार केही दिनका लागि मात्रै पर्याप्त हुने विश्लेषकहरूको भनाइ छ। पाइपलाइन एक महिनासम्म बन्द रहे विश्व बजारमा करिब १२ करोड ब्यारेलसम्म तेल आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

साउदी अरबले मर्मतसँगै सीमित मात्रामा पाइपलाइन पुनः सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ। तर अवरोध लामो समय कायम रहे अहिले क्रमशः बढिरहेको तेल बजारको दबाब तीव्र संकटमा परिणत हुन सक्ने जोखिम रहेको विश्लेषकहरूले बताएका छन्।

1

Scroll to Top