टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको १ लाख ४९ हजार ३२ कित्ता साधारण शेयरको लकइन अवधि आगामी मंसिर ५ गतेदेखि समाप्त हुने भएको छ । कम्पनीले सूचना जारी गर्दै सामूहिक लगानी कोषको स्वामित्वमा रहेको उक्त शेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयरमध्ये १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो । नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयरको लकइन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले छ महिनामा समाप्त हुने व्यवस्था छ ।
कम्पनीका अनुसार, सामूहिक लगानी कोषका दुई योजना परिपक्व भइसकेकाले नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार ती योजनाको स्वामित्वमा रहेका २ हजार ५०१ कित्ता शेयर भने लकइन अवधि पूरा हुनुअघि नै फुकुवा गरिएको थियो । बाँकी १ लाख ४९ हजार ३२ कित्ता शेयरको लकइन अवधि मंसिर ५ गतेपछि समाप्त हुनेछ । कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


