Banijya News

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘म उद्यमी’ अभियान देशव्यापी बनाइँदै

1
1.0K Shares

महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको पहिचान, प्रवर्द्धन र बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन महासङ्घले उक्त अभियान अघि बढाएको हो।

अभियानबारे जानकारी दिन महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दर्शना श्रेष्ठले ‘म उद्यमी’ ट्रेडमार्कलाई देशभरका महिला उद्यमीसम्म पुर्‍याउने बताइन्। ‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने मूल भावनाका साथ सञ्चालन गरिएको यस अभियानले महिला उद्यमी र उनीहरूका उत्पादनलाई एउटै साझा पहिचानमा जोड्ने उनको भनाइ छ।

“गुणस्तरीय उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादनले आफ्नो पहिचान निर्माण गर्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र बजारमा विशिष्ट स्थान हासिल गर्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भनिन्।

उनका अनुसार नेपाली महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवामा स्थानीय सीप, संस्कृति, मौलिकता, परिश्रम र सिर्जनशीलता प्रतिबिम्बित हुने गरेका छन्। तर, धेरै उत्पादनले बजारमा अपेक्षित पहिचान र व्यावसायिक अवसर पाउन सकेका छैनन्। यस्तो अवस्थामा सामूहिक ट्रेडमार्कले महिला उद्यमीका उत्पादनको दृश्यता बढाउन, उपभोक्ताको विश्वास जित्न र बजार विस्तार गर्न सहयोग पुग्ने उनले बताइन्।

अध्यक्ष श्रेष्ठले गत असारमा प्रधानमन्त्रीसँग भएको भेटका क्रममा ‘म उद्यमी’ ट्रेडमार्कको महत्त्व र यसको पहुँच विस्तारबारे विशेष चासो व्यक्त भएको जानकारी दिइन्। उनले अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

महिला उद्यमी महासङ्घ नेपालले सातै प्रदेश तथा जिल्लास्थित महिला उद्यमी सङ्घमार्फत उद्यमीको क्षमता अभिवृद्धि, नीतिगत पैरवी, वित्तीय पहुँच, बजार विस्तार र व्यावसायिक सञ्जाल निर्माणमा काम गर्दै आएको छ। महिला नेतृत्वमा सञ्चालित उद्यमलाई दिगो, प्रतिस्पर्धी र सफल बनाउनु महासङ्घको प्रमुख उद्देश्य रहेको श्रेष्ठले बताइन्।

पत्रकार सम्मेलनमा उद्यमी तथा व्यावसायिक प्रोफाइलिङ, ‘म उद्यमी’ अन्तर्गतका उत्पादनको प्रदर्शनी र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकता दिइएको थियो। प्रदर्शनीमार्फत उपभोक्ता, वितरक, व्यावसायिक साझेदार तथा सम्भावित बजारलाई महिला उद्यमीका उत्पादनसँग परिचित गराउने लक्ष्य राखिएको छ।

महिला उद्यमीका उत्पादनलाई बजारसम्म पुर्‍याउन प्रचारप्रसार र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले उद्यमशीलता, उत्पादन र सफलताका कथालाई आम नागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरिन्।

आगामी दिनमा अभियानको पहुँच विस्तार, उद्यमी तथा उत्पादनको व्यवस्थित अभिलेखीकरण, गुणस्तर अभिवृद्धि, ब्रान्डिङ, प्याकेजिङ सुधार र डिजिटल उपस्थिति सुदृढीकरणमा काम गरिने महासङ्घले जनाएको छ। यसका लागि प्रदेश तथा जिल्ला सङ्घ, सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गरिनेछ।

महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले अभियानप्रति चासो र विश्वास व्यक्त गर्दै यसको विस्तारका लागि प्रेरणा दिएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरिन्। द्वितीय उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीका उत्पादनको प्रचारप्रसारका लागि सार्वजनिक–निजी संवादअन्तर्गत ‘पोडकास्ट सिरिज’ सञ्चालन भइरहेको जानकारी दिइन्।

त्यस्तै, महासचिव सविता सुवेदीले सामूहिक ट्रेडमार्क प्रोफाइलिङबाट महिला उद्यमीको अवस्था, उत्पादनको विविधता, बजारको आवश्यकता र व्यावसायिक सम्भावनाबारे तथ्यगत विवरण सङ्कलन गर्न सहयोग पुग्ने बताइन्।

महासङ्घले ‘म उद्यमी’ अभियानलाई हिमाल, पहाड र तराईका महिला उद्यमीका उत्पादनलाई साझा राष्ट्रिय पहिचान दिलाउने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। अभियान सफल भएमा नेपाली उत्पादनको मौलिकता, गुणस्तर र विश्वसनीयता प्रवर्द्धन गर्दै महिला उद्यमीका लागि नयाँ बजार तथा व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top