नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मोबाइल बैंकिङमार्फत मात्रै ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९४ हजार वटा कारोबार भएका छन् । कारोबार संख्या र रकम दुवैका आधारमा मोबाइल बैंकिङ डिजिटल भुक्तानीको प्रमुख माध्यमका रूपमा देखिएको छ ।
यसैगरी, क्यूआर कोडमार्फत पनि ठूलो परिमाणमा भुक्तानी भएको छ । भदौ महिनामा क्यूआर कोड प्रयोग गरी ७ करोड ५५ लाख ८१ हजार वटा कारोबार भएका छन् । यसबाट कुल १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ ।
डेबिट कार्डमार्फत हुने कारोबार पनि उल्लेख्य देखिएको छ । समीक्षा महिनामा डेबिट कार्ड प्रयोग गरी १ करोड ८० हजार वटा कारोबार भएका छन् । ती कारोबारबाट ७४ अर्ब ७८ करोड रुपैयाँबराबरको रकम भुक्तानी भएको छ ।
राष्ट्र बैंकको तथ्यांकले बैंकिङ सेवा र भुक्तानी प्रणालीमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएको संकेत गरेको छ । मोबाइल बैंकिङ, क्यूआर कोड र डेबिट कार्डको बढ्दो प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै भुक्तानी प्रक्रियालाई सहज बनाउन सहयोग गरिरहेको छ ।


