Banijya News

पोखरा–दुबई उडानको बुकिङ एक वर्षभन्दा बढीका लागि खुला

1
1.0K Shares

फ्लाई दुबईले पोखरा–दुबई–पोखरा उडानको टिकट बुकिङ सन् २०२७ अक्टोबर ३० सम्म खुला गरेपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत असोज ७ गतेदेखि सुरु भएको उडानको बुकिङ अवधि एक वर्षभन्दा बढीका लागि विस्तार भएपछि उडान नियमित र दिगो हुनेमा व्यवसायीको विश्वास बढेको हो ।

सुरुमा फ्लाई दुबईले छ महिनाका लागि टिकट बुकिङ खुला गरेको थियो । पछिल्लो समय बुकिङ अवधि बढाएसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडान निरन्तर सञ्चालन हुने सम्भावना बलियो बनेको पर्यटन व्यवसायीको भनाइ छ ।

फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले उडान सुरुआतमै उत्साहजनक प्रतिक्रिया पाएपछि कम्पनीले बुकिङ अवधि बढाएको बताए । आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको भन्दै उनले भने, ‘यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो ।’

चाडपर्वको समय भएकाले अहिले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको संख्या कम रहेको श्रेष्ठले बताए । चाडपर्व सकिएपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ्ने उनको अपेक्षा छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले उडानलाई सफल बनाउन सम्बन्धित सबै पक्षबीच सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार असोज ७ गतेदेखि मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन उडान नियमित भइरहेको छ । उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने गरेको छ ।

गत सोमबारसम्ममा फ्लाई दुबईमार्फत तीन हजार ११३ यात्रु दुबईबाट पोखरा आएका छन् भने पोखराबाट एक हजार ४२३ यात्रु दुबई प्रस्थान गरेका छन् ।

टिकट बुकिङ उत्साहजनक भएपछि ट्राभल्स तथा टुर्स व्यवसायीमा पनि उडानको निरन्तरताप्रति आशा बढेको छ । उडानबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी होटल तथा रेस्टुरेन्टले विभिन्न सहुलियत योजना ल्याएका छन् । फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत सेवा दिइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको विमानस्थलबाट यसअघि केही कम्पनीले चार्टर उडान गरे पनि नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको थिएन ।

दुबईलाई ट्रान्जिट बनाएर पोखरा विश्वका विभिन्न मुलुकसँग हवाई सञ्जालमा जोडिएपछि पर्यटन, व्यापार, रोजगारी र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क विसं २०८५ भदौ मसान्तसम्म पूर्ण रूपमा छुट दिएको छ । ग्राउन्ड ह्यान्डलिङ शुल्कमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई पोखरा–दुबई उडानको अनुमति दिएको थियो ।

1

Scroll to Top