चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, साउन र भदौ महिनामा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूले कुल ५ करोड ७४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा फाइनान्स कम्पनीहरूको समग्र नाफा ४८.३५ प्रतिशतले घटेको हो । अधिकांश कम्पनीको नाफा कमजोर बन्दा र केही कम्पनी घाटामा रहँदा समग्र वित्तीय प्रदर्शन प्रभावित भएको देखिन्छ ।
फाइनान्स समूहको कुल नाफा ५ करोड ७४ लाख रुपैयाँमा सीमित भए पनि आईसीएफसी फाइनान्सले भने एक्लैले ८ करोड ३९ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । यसले समूहको समग्र नाफा धान्न आईसीएफसी फाइनान्सको योगदान महत्त्वपूर्ण रहेको देखाउँछ । उक्त कम्पनीलाई अलग राखेर हेर्दा बाँकी कम्पनीहरू समग्रमा करिब २ करोड ६६ लाख रुपैयाँ घाटामा देखिन्छन् ।
आईसीएफसी फाइनान्सले नाफा वृद्धिमा सबैभन्दा राम्रो प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा बढाएर ८ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ । यो गत वर्षको तुलनामा १२७.२९ प्रतिशतको वृद्धि हो ।
यता, गुडविल फाइनान्सको नाफामा भने ठूलो गिरावट आएको छ । गत वर्ष ९ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । यो ७३.९७ प्रतिशतको गिरावट हो ।
त्यस्तै, मञ्जुश्री फाइनान्सको नाफा ७२.३५ प्रतिशत घटेर ८९ लाख रुपैयाँमा झरेको छ । सेन्ट्रल फाइनान्सको नाफा पनि ५६.०८ प्रतिशतले घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ ।
केही कम्पनीले भने नाफा बढाउन सफल भएका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ९५.५४ प्रतिशतले बढेर १ करोड १४ लाख रुपैयाँ पुगेको छ । मल्टिपर्पस फाइनान्सको नाफा पनि २०.७६ प्रतिशत बढेर ७६ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, बेस्ट फाइनान्सको नाफा ३०.३९ प्रतिशत घटेर ३३ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । प्रोग्रेसिभ फाइनान्सको नाफा भने ९०.९७ प्रतिशतले घटेर करिब ८ लाख रुपैयाँमा झरेको छ ।
छ कम्पनी घाटामा
चालु आवको भदौ मसान्तसम्म नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र रिलायन्स फाइनान्स घाटामा रहेका छन् । यी कम्पनीको कमजोर प्रदर्शनले समग्र वित्तीय नतिजामा दबाब परेको छ ।
घाटामा रहेका कम्पनीमध्ये गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको अवस्था सबैभन्दा कमजोर देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनी १ करोड ४ लाख रुपैयाँ नाफामा थियो ।
गोर्खाज फाइनान्सको घाटा पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्ष भदौ मसान्तसम्म ३२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा चालु आर्थिक वर्षमा बढेर २ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
रिलायन्स फाइनान्स गत वर्ष १ करोड ९३ लाख रुपैयाँ नाफामा रहेकामा यस वर्ष १ करोड ३७ लाख रुपैयाँ घाटामा पुगेको छ । त्यस्तै, गत वर्ष ८ लाख ८० हजार रुपैयाँ नाफा कमाएको जानकी फाइनान्स यस वर्ष ९५ लाख ७० हजार रुपैयाँ घाटामा गएको छ ।
यद्यपि, पोखरा फाइनान्सको अवस्थामा भने उल्लेख्य सुधार देखिएको छ । गत वर्ष भदौ मसान्तसम्म ११ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको कम्पनीको घाटा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर करिब २५ लाख रुपैयाँमा सीमित भएको छ ।
समग्रमा फाइनान्स कम्पनीहरूको नाफा घट्नु र केही कम्पनीको घाटा बढ्नुले यस क्षेत्रको वित्तीय प्रदर्शन कमजोर रहेको संकेत गरेको छ ।


