Banijya News

सिटिजन्स बैंकको २०औँ साधारण सभा सम्पन्न, सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

1
1.0K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। २०८३ असार मसान्तसम्म कायम १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ चुक्ता पुँजीका आधारमा बैंकले ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, कर प्रयोजनका लागि ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश प्रदान गरिनेछ। दुवै शीर्षकमा गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार पारिएको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरिएको बैंकले जनाएको छ।

बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। पछिल्लो विवरणअनुसार बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। यसले बैंकले सेयरधनीलाई नियमित प्रतिफल प्रदान गर्दै आएको देखाउँछ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै बैंकका गतिविधि सञ्चालन गरिने बताउनुभयो। उहाँले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा बैंकको समग्र कार्यप्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंकप्रति विश्वास र सहयोग प्रदान गर्ने सेयरधनी तथा अन्य सरोकारवालालाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ तथा नवीन वित्तीय सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। पछिल्लो समय युवा पुस्तालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरूका लागि ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआरमार्फत नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा उपलब्ध गराइएको छ।

‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

1

Scroll to Top