Banijya News

पक्राउको चर्चाबीच गगन थापाको प्रतिक्रिया : ‘मेरो हात सफा छ’

1
1.0K Shares

सरकारले पक्राउ गर्न खोजेको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। आफूलाई लिएर अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै उनले आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउने प्रयासको प्रतिवाद गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले आफू जिम्मेवारीबाट पछि हट्ने वा कमजोर मनोबलका साथ प्रस्तुत हुने अवस्थामा नरहेको सन्देश दिएका हुन्। उनले आफूलाई पार्टी सभापतिका रूपमा मात्र नभई आम नागरिकको दाइ, भाइ, छोरा र साथीका रूपमा पनि सम्बोधन गर्दै विश्वास कायम राख्न आग्रह गरेका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क हुनुहोस्– म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।’

उनले आफ्नो भनाइलाई थप स्पष्ट पार्दै अंग्रेजीमा ‘माई ह्याण्ड्स आर क्लिन!’ अर्थात् ‘मेरो हात सफा छ’ भन्दै आफूले कुनै गलत काम नगरेको दाबीसमेत गरेका छन्। पक्राउ गर्न खोजिएको भन्ने चर्चाका बीच आएको उनको यो अभिव्यक्तिलाई आफ्नो नैतिक धरातलप्रति विश्वस्त रहेको सन्देशका रूपमा हेरिएको छ।

थापाले आफूलाई केन्द्रमा राखेर अनावश्यक प्रश्न उठाउनुभन्दा सम्बन्धित विषयमा सही निकाय र सही ठाउँमा प्रश्न गर्नुपर्ने बताएका छन्। उनले प्रश्न उठाउने प्रक्रियालाई व्यक्ति केन्द्रित नबनाई विषयको गम्भीरता र जिम्मेवारीअनुसार अघि बढाउनुपर्ने धारणा राखेका छन्।

‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

1

Scroll to Top