अमेरिकाको भर्जिनिया राज्यमा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको अभियोग लागेका नेपाली मूलका नरेश भट्टलाई अदालतले प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ। पत्नीको शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको स्वीकार गरे पनि हत्या गरेको अस्वीकार गर्दै आएका भट्टलाई मंगलबार जुरीले दोषी ठहर गरेको हो।
ममताको रहस्यमय बेपत्ता प्रकरणले लामो समयदेखि अमेरिकी सञ्चारमाध्यम र नेपाली समुदायको ध्यान खिच्दै आएको थियो। करिब छ हप्तासम्म चलेको सुनुवाइपछि आएको फैसलाले घटनाको न्यायिक प्रक्रियामा महत्त्वपूर्ण निष्कर्ष दिएको छ। यद्यपि, ममताको शव अहिलेसम्म फेला पर्न सकेको छैन। ३९ वर्षीय भट्टलाई हत्यासँगै शव लुकाउने तथा शवलाई विकृत बनाउनेसम्बन्धी अभियोगमा समेत दोषी ठहर गरिएको छ। प्रथम श्रेणीको हत्यामा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। यसबाहेक शवसँग छेडछाड तथा विकृत बनाएको दुई अभियोगमा प्रत्येकमा थप पाँच वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ।
अदालतले आगामी मार्च १२ मा भट्टलाई सजाय सुनाउने तयारी गरेको छ। फैसलापछि उनलाई धरौटीमा रिहा गर्ने सुविधा पनि समाप्त गरिएको छ। फैसला सुनाइँदा भट्ट शान्त देखिएका थिए भने उनले केही समय आफ्ना कानुन व्यवसायीसँग छलफल गरेका थिए। अर्कोतर्फ, ममताका परिवारका सदस्यले एकअर्कालाई अँगालो हाल्दै अदालतको निर्णयप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
प्रिन्स विलियम काउन्टी तथा मानासस र मानासस पार्क क्षेत्रकी सरकारी वकिल एमी एशवर्थले फैसलालाई ममताका लागि न्याय प्राप्त गर्ने प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि भनेकी छन्। उनका अनुसार ममताको असामयिक मृत्युले परिवारलाई गहिरो पीडामा पारेको थियो। लामो समयको अन्योल र मानसिक तनावपछि आएको निर्णयले परिवारलाई केही राहत मिल्ने उनको विश्वास छ।
कसरी बेपत्ता भएकी थिइन् ममता ?
प्रहरीको अनुसन्धानअनुसार २८ वर्षीया ममता सन् २०२४ जुलाई २७ मा अन्तिमपटक भर्जिनियाको मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन्। उनी त्यहाँ नर्सका रूपमा कार्यरत थिइन्। त्यसको भोलिपल्ट एक साथीले उनीसँग टेलिफोनमा कुराकानी गरेकी थिइन्। सोही दिन ममताले आफ्नी सानी छोरीसँगको भिडियो सामाजिक सञ्जाल टिकटकमा समेत राखेकी थिइन्। त्यसपछि भने उनी सम्पर्कविहीन भइन्।
ममता हराएपछि परिवार र साथीहरू चिन्तित बने। छोरीको पहिलो जन्मदिन आउन केही सातामात्र बाँकी रहेकाले उनको अचानक अनुपस्थितिले थप आशंका जन्माएको थियो। खोजी अभियान सुरु भएपछि प्रहरीले पनि घटनाबारे अनुसन्धान अघि बढाएको थियो। त्यस समयमा नरेशले पत्नी कहाँ गइन् भन्ने आफूलाई जानकारी नभएको बताउँदै आएका थिए। उनले ममतासँग अन्तिम भेट बेपत्ता भएको खबर सार्वजनिक हुनुभन्दा केही दिनअघि घरमा खाना खाने क्रममा भएको दाबी गरेका थिए। तर अनुसन्धान अगाडि बढ्दै जाँदा उनीमाथि शंका गहिरिँदै गएको थियो।
अदालतमा नरेशको अप्रत्याशित स्वीकारोक्ति
मुद्दाको सुनुवाइका क्रममा सबैभन्दा महत्त्वपूर्ण मोड त्यतिबेला आयो, जब नरेश आफैँले अदालतमा बयान दिए। उनले पहिलोपटक पत्नीको शव व्यवस्थापन गरेको र शरीरका विभिन्न भाग बनाएर फालेको स्वीकार गरे। तर ममताको मृत्युमा आफ्नो संलग्नता नरहेको दाबी भने कायमै राखे। उनको भनाइअनुसार एक रात निद्राबाट ब्युँझिएपछि पत्नीलाई शयनकक्षमा अचेत अवस्थामा भेटेका थिए। ममताको वरिपरि बान्ता र रगत रहेको तथा नजिकै विषालु कीटनाशक औषधिको प्याकेट देखेको उनले बताएका थिए। भट्टले पत्नीलाई बचाउन करिब एक घण्टासम्म प्रयास गरेको र कृत्रिम श्वासप्रश्वाससमेत दिएको दाबी गरेका थिए। त्यसपछि बाथरुममा लगे पनि उनलाई होसमा ल्याउन नसकेको उनको भनाइ थियो। तर, यस्तो गम्भीर अवस्था देखेपछि पनि आपत्कालीन सेवा ९११ मा किन फोन नगरेको भन्ने प्रश्नको स्पष्ट जवाफ उनले दिन सकेनन्।
अदालतमा उनले आफू अत्यन्त डराएको र आत्तिएको अवस्थामा रहेको बताएका थिए। घटनापछि के गर्ने भन्ने निर्णय लिन नसकेको र मानसिक रूपमा नियन्त्रण गुमाएको जस्तो महसुस भएको उनको दाबी थियो।
शव लुकाएको विवरण आफैँले सुनाए
भट्टले पत्नीको मृत्यु भइसकेको ठानेपछि शव लुकाउने निर्णय गरेको बयान दिएका थिए। सुरुमा पोटोम्याक नदीमा फाल्ने सोच बनाएको तर पछि फोहोर फाल्ने स्थानमा पुर्याउने योजना बनाएको उनले बताएका थिए। शव फोहोर राख्ने भाँडोमा अटाउन नसकेपछि त्यसलाई टुक्राटुक्रा पारेको र प्लास्टिकका झोलामा राखेर पुरानो अपार्टमेन्ट परिसरमा रहेको फोहोर थिच्ने मेसिनमा फालेको उनले स्वीकार गरेका थिए। यस क्रममा त्यतिबेला ११ महिनाकी छोरीलाई पनि केही पटक आफूसँगै लगेको उनको बयान थियो। तर अभियोजन पक्षले भट्टको भनाइलाई विश्वासयोग्य मानेन। उनले प्रस्तुत गरेका घटनाक्रम र उपलब्ध प्रमाणका आधारमा जुरीले हत्याको अभियोगमा दोषी ठहर गरेको हो।

साथीहरूको न्यायका लागि लामो संघर्ष
अदालतमा ममताकी आमा गीता, भाइ महेश तथा निकट साथीहरूले पनि बयान दिएका थिए। उनीहरूका भनाइले ममता बेपत्ता भएपछि परिवारले भोगेको पीडा र उनलाई खोज्न गरिएको प्रयासलाई उजागर गरेको थियो। ममताकी साथी तथा पूर्वसहकर्मी होली विर्थले अनुसन्धानमा संलग्न प्रहरी र सरकारी वकिलप्रति आभार व्यक्त गरिन्। उनले आफू र अन्य साथीहरूले ममतामाथि केही गम्भीर घटना भएको आशंका गर्दै निरन्तर आवाज उठाएको बताइन्।
उनले ममताको पहिचानलाई केवल हिंसाको घटनासँग जोडेर नहेर्न आग्रह गर्दै उनी एक माया गर्ने आमा र प्रिय साथी भएको स्मरण गरिन्। ममताकी छोरीलाई आमाको माया र व्यक्तित्वबारे जानकारी गराउँदै राम्रो भविष्य दिन आफूहरूले सहयोग गर्ने उनको प्रतिबद्धता थियो। अर्की साथी सुनिता बस्नेतले पनि फैसलालाई महत्त्वपूर्ण उपलब्धि बताइन्। उनले घरेलु हिंसा र महिलामाथि हुने धम्कीलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै समाजमा सचेतना र सुरक्षाका लागि थप पहल आवश्यक रहेको बताइन्।
उनका अनुसार महिलामाथि हुने हिंसाका प्रारम्भिक संकेतलाई बेवास्ता गर्नु हुँदैन। प्रत्येक महिला र बालबालिकाले सम्मान तथा सुरक्षासहित बाँच्न पाउने वातावरण निर्माण गर्नु समाजको साझा जिम्मेवारी हो।


