तिहारको प्रमुख पर्व भाइटीकाका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले टीका लगाएका छन्। प्रत्येक वर्ष भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा बिहानैदेखि टीका लगाउने र दर्शन गर्नेहरूको उपस्थिति रहेको छ।
पारिवारिक कारणले दिदीबहिनीसँग भाइटीका लगाउन नपाउने दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनीहरू मन्दिर पुगेर धार्मिक विधिअनुसार पूजा, आराधना र टीका लगाउने परम्परा रहिआएको छ। यसरी मन्दिरमा पुगेर टीका लगाउँदा पनि भाइटीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व पूरा हुने जनविश्वास छ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन अर्थात् भाइटीकाका अवसरमा मात्र खुल्ने भएकाले यस दिन यहाँ विशेष चहलपहल हुने गर्दछ। दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई सम्मान गर्ने पर्वका रूपमा भाइटीका मनाइन्छ।
यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। साथै माला, मिठाई तथा विभिन्न परिकार दिएर आपसी प्रेम र सद्भाव साटासाट गरिन्छ।
भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप मजबुत बनाउने विश्वास गरिन्छ।


