Banijya News

साहस ऊर्जाको नाफा २१ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमै कमायो ६० करोड

1
1.0K Shares

साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २१ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा २१.०६ प्रतिशतले बढेको हो ।

कम्पनीको विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले नाफा बढाउन सहयोग गरेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ३.१६ प्रतिशतले बढेर ९५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको वित्तीय खर्चमा उल्लेख्य कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ७९ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ११ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि बढेको छ । गत वर्ष ६७ करोड ७४ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ७३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब २८ करोड रुपैयाँ सञ्चित रहेको छ भने दीर्घकालीन कर्जा ८ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ ।

४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैबीच, कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको छ । उक्त प्रस्तावलाई विद्युत् नियमन आयोगले स्वीकृति दिइसकेको छ भने नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रक्रियामा रहेको छ ।

त्यस्तै, सहायक कम्पनी टाइम्स इनर्जीमार्फत अघि बढाइएको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको डिजाइन कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

1

Scroll to Top