Banijya News

होटल फरेस्ट इनको सञ्चालन आम्दानीमा सामान्य वृद्धि, अझै पाँच करोड घाटामा

1
1.0K Shares

होटल फरेस्ट इन लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा पनि घाटामा रहेको छ । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद घाटा २३.१६ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ४ करोड ९९ लाख ४८ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ५० लाख १२ हजार रुपैयाँ घाटामा रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा सामान्य सुधार देखिएको छ । कम्पनीले ४ करोड ५८ लाख ४१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ करोड ४१ लाख २५ हजार रुपैयाँ रहेको थियो । यसअनुसार सञ्चालन आम्दानी ३.८९ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी ४ करोड ५८ लाख ७७ हजार रुपैयाँ रहेको छ भने कुल खर्च ९ करोड ५८ लाख २५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानीमा वृद्धि भए पनि उच्च खर्चका कारण कम्पनीले घाटा न्यूनीकरण गर्न सकेको छैन ।

कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको सञ्चित घाटा बढेर ५३ करोड २३ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल सम्पत्ति ४ अर्ब ३७ करोड ८१ लाख ९३ हजार रुपैयाँ र कुल दायित्व २ अर्ब २८ करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ९.९९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४.८६ रुपैयाँ कायम भएको छ ।

कम्पनीले पर्यटन क्षेत्रका चुनौती, सञ्चालन लागतमा भएको वृद्धि तथा आर्थिक गतिविधिमा देखिएको उतारचढावलाई आफ्नो वित्तीय प्रदर्शन प्रभावित हुनुका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

1

Scroll to Top