सरकारले कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढीको जग्गा अस्थायी रूपमा आफ्नो नाममा सकार गर्न पाउने व्यवस्था गर्न लागेको छ । यसका लागि सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया), २०७३ संशोधन गर्ने प्रस्ताव अघि सारेको छ ।
सरकारले अध्यादेशमार्फत ‘केही नेपाल ऐन संशोधन’ गर्दै बाफियाको दफा ५७ मा नयाँ व्यवस्था थप्न लागेको हो । अध्यादेशका लागि तयार गरिएको मस्यौदामा दफा ५७ को उपदफा (८क) पछि नयाँ उपदफा (८ख) थप गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार नेपाल सरकारको स्वीकृतिमा प्रचलित कानुनबमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने व्यक्ति वा संस्थाले धितो राखेको जग्गा कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाले सकार गर्नुपर्ने अवस्था आएमा त्यस्तो जग्गा अस्थायी रूपमा आफ्नो नाममा राख्न सक्नेछन् ।
तर, यसका लागि सम्बन्धित भूमि व्यवस्थासम्बन्धी कानुनले अनुमति दिएको हुनुपर्ने र सोही कानुनबमोजिम आवश्यक स्वीकृति प्राप्त गरेको हुनुपर्ने सर्त राखिएको छ ।
यसरी सकार गरिएको जग्गा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड र प्रचलित भूमि व्यवस्थासम्बन्धी कानुनअनुसार व्यवस्थापन वा बिक्री गर्नुपर्नेछ । जग्गा सकार गर्दा त्यसमा लागू हुने हदबन्दी, उपयोगसम्बन्धी प्रतिबन्ध, स्वीकृत प्रयोजन तथा हस्तान्तरणका सर्तसमेत अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रस्ताव छ ।
त्यस्तै, हदबन्दी छुट प्राप्त जग्गाको दुरुपयोग रोक्न पनि संशोधनमा विशेष व्यवस्था गरिएको छ । जग्गा सकार गरेको कारणले मात्र बैंक तथा वित्तीय संस्थाले त्यस्तो जग्गा साबिकमा स्वीकृत औद्योगिक वा अन्य विशेष प्रयोजनमा प्रयोग गर्न पाउने छैनन् ।
हदबन्दीभन्दा बढी जग्गाको स्वामित्व हस्तान्तरण, उपयोग तथा बिक्रीसम्बन्धी अन्य व्यवस्था भूमि व्यवस्थासम्बन्धी प्रचलित कानुनअनुसार नै हुने प्रस्तावमा उल्लेख छ । साथै, यस संशोधनले प्रचलित कानुनले निषेध गरेको जग्गाको स्वामित्व, उपयोग वा हस्तान्तरणलाई स्वतः वैधता प्रदान नगर्ने स्पष्ट पारिएको छ ।


